• उमाशङ्कर द्विवेदी

अब म क्रोधले मुर्मुरिएर छानीछानी वीरहरूको वध गर्नेछु, अनि दुर्योधनलाई भ्रम हुनेछ– अरे, यस भूलोकमा त दुई/दुई वटा अर्जुन छन् । महात्मा पाण्डवहरूप्रति मेरो जुन भक्ति र प्रीति छ, त्यसलाई यी राजाहरूको सामु सहस्त्रौं वीरहरूलाई संहार गरेर प्रकट गर्नेछु । आज कौरवहरूले मेरो बल–वीर्य र कृतज्ञताबारे थाहा भइहाल्दछ ।

राजन्, यस प्रकार कम्बोज, यवन र शकहरूको दुर्जय सेनालाई धपाएर सात्यकि तपाईंका पुत्रहरूको सेनामा छिरेर उनीहरूलाई परास्त गरी सारथिलाई रथ अगि बढाउने आदेश दिए । उनलाई अर्जुनसमक्ष पुगेको हेरेर तपाईंका सैनिक तथा चारणहरूले बडो प्रशंसा गर्न थाले । यत्तिकैमा तपाईंका पुत्र दुर्योधन, चित्रसेन, दुश्शासन, विविंशति, शकुनि, दुस्सह, दुर्धषण र क्रथले पछाडिबाट आएर उनलाई घेरामा पारे ।

पुरुषसिंह सात्यकिलाई यसबाट अलिकति पनि भय भएन र उनी अर्जुनभन्दा पनि राम्रो कुशलता प्रदर्शन गर्दै उनीहरूसित युद्ध गर्न थाले । अब राजा दुर्योधनले तीनवटा बाणले उनको सूत र चारवटा बाणबाट चारवटै घोडालाई घाइते पारी सात्यकिमाथि पहिला तीनवटा पछि आठवटा बाणबाट वार गरे तथा दुश्शासनले सो¥हवटा, शकुनिले पच्चीसवटा, चित्रसेनले पाँचवटा र दुस्सहले पन्ध्रवटा बाणबाट उनीमाथि वार गरे ।

यो हेरेर मुस्काउँदै सात्यकिले ती जम्मैजनालाई तीन/तीन वटा बाण हानेर घाइते पारिदिए । फेरि शकुनिको धनुषलाई काटेर तीनवटा बाणबाट दुर्योधनको छाती ताकेर वार गरे तथा चित्रसेनमाथि एक सयवटा, दुस्सहमाथि दशवटा र दुश्शासनमाथि बीसवटा बाण हानेर घाइते पारिदिए । यसपछि उनले प्रत्येक वीरमाथि पाँच/पाँच वटा बाण अझ हाने तथा भल्ल नामक अस्त्रबाट दुर्योधनको सारथिमाथि प्रहार गरे ।

यसबाट सारथि प्राणहीन भई रथबाट तल खस्यो । सारथि मारिएपछि रथका घोडाहरू बेलगाम भई यताउति भाग्न थाले । यसै प्रकार घोडाहरूले त्यस रथलाई संग्रामभूमिबाट बाहिर लगे । यो हेरेर तपाईंका अन्य पुत्रहरू र अन्य सैनिकहरू पनि युद्धमैदान छाडे भागे । यस प्रकार तपाईंका सेनालाइ यत्रतत्र छिन्नभिन्न पारी उनी फेरि अर्जुनको रथतिर हानिए ।

उनी अलिक अगि बढेका मात्र थिए कि दुर्योधनको आज्ञाबाट संशप्तकहरूसहित ती सबै योद्धा फेरि फर्किआए । स्वयम् दुर्योधन उनीहरूको अगि थिए । उनको साथमा तीन हजार घोडचढी तथा शक, काम्बोज, बाल्हीक, यवन, पारद, कुलिन्द, तङ्गण, अम्बष्ठ, बर्बर र पार्वतीय योद्धाहरू हातमा ढुङ्गा लिएर बडो क्रोधित अवस्थामा सात्यकितिर दौडे ।

दुश्शासनले ‘यसलाई मारिहाल’ भन्दै सबैलाई उत्साहित पारे तथा सात्यकिलाई चारैतिरबाट घेरामा हाले । यतिबेला हामीले सात्यकिको अद्भुत पराक्रम हे¥यौं । उनी एक्लै ती सबैका साथ संग्राम गरिरहेका थिए । रथसेना, गजसेना, घोडचढी सेनासहित ती सबै अनार्यहरूको संहार गर्दै गइरहेका थिए । मारबाट बच्नको लागि उनीहरू भाग्दै गर्दा दुश्शासनले– हरे, किन भागिरहेका छौ ? तिमीहरू त ढुङ्गा हान्नमा खप्पिस छौ, सात्यकि त यसबाट सर्वथा अनभिज्ञ छ ।

त्यसैले तिमीहरूले ढुङ्गा हानेर उसलाई मारिदेऔ । यो सुनेर उनीहरू फेरि सात्यकिमाथि जाइलागे र हात्तीको शिरको समान ठूल्ठूला ढुङ्गा लिएर उनको सामु आए । उनीहरूलाई शिलायुद्ध गर्ने इच्छाबाट आएको हेरेर सात्यकिले बाण वर्षा गर्न थालिहाले । फेरि उनीहरूले जुन भयङ्कर पाषाण वर्षा गरे त्यसलाई सात्यकिले आफ्नो बाणबाट छिन्नभिन्न पारिदिए । ती टुक्रिएका ढुङ्गाहरूबाट तपाईंकै सेना मर्न थाले र उनीहरूबीच हाहाकार मच्चियो । कुरै कुरामा पाँच सय शिलाधारी वीरहरू आफ्नो भुजा काटिएको कारणले प्राणहीन भई भुइँमा लडे ।

अब अनेकौं व्यात्तमुख, अयोहस्त, शूलहस्त, दरद, तङ्गण, खस, लम्पाक र कुलिन्द योद्धाहरू सात्यकिमाथि ढुङ्गा वर्षाउन थाले । युद्ध कुशल सात्यकिले बाणको ओइरो लगाइदिएर तिनीहरूका ढुङ्गालाई टुक्राटुक्रा पारिदिए । ती ढुङ्गाका टुक्राहरू बारुलोको डङ्कझैं उनीहरूको शरीरभित्र छिर्दथे । त्यसबाट पीडित भएर मानिस, हात्ती र घोडाहरू संग्रामभूमिमा टिक्न सकेनन् ।

जुन हात्ती मर्नबाट बाँचेका थिए, तिनीहरूको आङ रगताम्यै हुन पुग्यो तथा उनीहरूको मस्तकको हाड भाँचियो । तपाईंका जुन पुत्रहरू सात्यकिसित लड्न आएका थिए, उनीहरू पनि सात्यकिको मारबाट आत्तिएर द्रोणाचार्यजीको सेनामा गई मिसिए तथा जुन रथीहरूलाई लिएर दुश्शासनले सात्यकिमाथि धावा गरेका थिए, ती जम्मै पनि भयभीत भएर द्रोणाचार्यको रथतिर दौडिए ।

सञ्जयले भने– राजन्, आचार्यले दुश्शासनको रथलाई आफूछेउमा उभिएको हेरेर द्रोणाचार्यले दुश्शासनसित भन्न थाले– दुश्शासन, यी जम्मै रथीहरू किन भाग्दैछन् ? राजा दुर्योधन त कुशलतापूर्वक छन् नि ? तथा जयद्रथ अझै जीवित नै छन् नि त ? तिमी त राजकुमार हौ, स्वयम् राजाको भाइ हौ र तिमीलाई नै युवराज पद प्राप्त भएको छ, फेरि पनि तिमी युद्धबाट किन भागिरहेका छौ ?

तिमीले त पहिले द्रौपदीसित भनेका थियौ कि ‘तिमी त हामीले जितेको दासी हौ । अब तिमी स्वेच्छाचारिणी भएर हाम्रो ज्येष्ठ भ्राता दुर्योधनलाई वस्त्र ल्याएर दिने गर्नु । अब तिम्रो कोही पनि पति छैन, ती जम्मै त तैलरहित तिलझैं सारहीन भइसकेका छन् । यस्तो ठूल्ठूला कुरा गर्ने तिमीले अब युद्धभूमिमा पिठ्यूँ किन देखाइरहेका छौ ?

क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here