प्रस, जनकपुरधाम, ७ पुस/
नेपाली काङ्ग्रेस प्रदेश २ को जारी अधिवेशन बुधवार हुने तय भएको निर्वाचन स्थगित भएको छ । बुधवार १ बजेबाट हुने भनिएको निर्वाचन बिहीवार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
साँझ ६ बजेसम्म पनि मतपत्र छपाइको काम पूरा हुन नसकेपछि निर्वाचन एक दिनपछि धकेलिएको हो । बिहीवार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
नेपाली काङ्ग्रेस प्रदेश २ को सभापतिका लागि संस्थापन (देउवा) पक्षबाट रौतहटका कृष्ण यादव र डा शेखर कोइराला समूहको समर्थनबाट धनुषाका रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् । दुवै पक्ष पदाधिकारीहरूको नामसहितको समूहगतरूपमा मैदानमा उत्रिएका छन् । प्रदेशमा सभापति १, उपसभापति २, महामन्त्री २ र एकजना महिलासहित सहमहामन्त्री ३ सहित ७२ पदका लागि निर्वाचन भइरहेको छ । निर्वाचित सदस्यहरूमध्ये कोषाध्यक्ष मनोनयन गरिने व्यवस्था छ ।
सभापतिका उम्मेदवार रामसरोज यादव पक्षबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), विनोद खनाल (सर्लाही) महामन्त्री नरेश यादव (सिराहा), हरेस महतो (सर्लाही), सहमहामन्त्री अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा)ले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, संस्थापन पक्षबाट सभापतिका उम्मेदवार कृष्ण यादवको समूहबाट उपसभापति वीरेन्द्र सिंह प्रदेशमन्त्री (सर्लाही), चन्द्रशेखर यादव (बारा), महामन्त्रीमा उपेन्द्र यादव (सिराहा), वृहस्पतिकृष्ण श्रेष्ठ (पर्सा), सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र महिला सहमहामन्त्रीमा रीता यादव (सप्तरी) छन् ।
प्रदेश २ का आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्र र ३२ सङ्घीय निर्वाचन क्षेत्रका प्रतिनिधि मतदाता रहेका छन् । प्रदेश चुनावमा एक हजार नौ सय २० जनाभन्दा बढी मतदाता छन् । दुवै समूहले सदस्यहरूको नामलाई समूहमा समावेश गरेका छैनन् । सदस्यहरू समूहमा रहे पनि उनीहरूको नाम सभापतिको समूहमा आएको छैन । धनुषा जिल्लामा देउवा समूहको पकड बलियो छ । तर रामसरोज यादवको गृह जिल्ला भएकोले सो समूहका मतदाताहरू स्थानीयको नाममा प्रभावित हुन सक्ने सम्भावना देखिएपछि यसरी प्रभावित नहोस् भनेर गृहमन्त्री बालकृष्ण खाँडले निगरानी गरिरहेका छन् ।
बारा, पर्सा, रौतहट र सर्लाहीमा पनि देउवा समूह बलियो रहेको बताइएको छ । महोत्तरी, सिराहा र सप्तरीमा कडा प्रतिस्पर्धा रहे पनि कोइराला र निधिको पक्ष गहकिलो छ । प्रदेशमा कोइराला र निधि एकातर्फ भएपछि पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रतिष्ठाको विषय बनेको छ।
पाँचजना सदस्य निर्विरोध निर्वाचित
नेपाली काङ्ग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेदवारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।
निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले बताए । त्यस्तै, प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ निर्विरोध भएको निर्वाचन संयोजक गौतमले बताए ।