बितेको सप्ताहान्तमा त्रिमूर्ति टोल विकास समितिले टोलमा अधिकांश समिति, टोलवासी तथा महानगरपालिकाको जिन्सी सहयोगमा सिसिटिभी क्यामरा जडान गरी त्यसको सञ्चालन सामुदायिक प्रहरी मुर्ली–श्रीपुर, रेखदेख र अनुगमन सोही सामुदायिक सेवा केन्द्र तथा स्वामित्व सेफर वीरगंजलाई हस्तान्तरण गरेको छ । आफ्नो टोलको सुरक्षा, विसङ्गत गतिविधि नियन्त्रण तथा फोहरमैला जथाभावी फाल्नेहरूलाई खबरदारी गर्न सिसिटिभी जडान गरिएको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जनाइएको थियो । आफैंले खर्च गरेर जडान गरेको तर स्वामित्व तथा सञ्चालन अरूको जिम्मा दिइएकोबारे समितिकी अध्यक्ष उमा मिश्रले २०७० सालमा समिति गठित भई टोलका प्रत्येक घरधुरीसँग शुल्क उठाएर फोहरमैला व्यवस्थापन, नाला सफाइ, सडक बत्ती मरम्मत तथा टोलवासीबीच छलफल, विचारविमर्श तथा निरन्तर भेटघाट कायम राख्न विभिन्न सांस्कृतिक तथा धार्मिक पर्वको आयोजना गरिंदै आएको बताएकी थिइन् । स्थानीय सरकार गठनपश्चात् समितिले गर्दै आएको काम स्वतः महानगरपालिकाले गर्न थालेपछि सिसिटिभी जडान काम बाँकी रहेकोले सो जडान गरेर उद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको बताएकी थिइन् । समितिसँग कोष निःशेष भएको र अब कोष खडा हुने आधार पनि नरहेकोले सिसिटिभीहरूको मरम्मत सम्भार समिति स्वयम्ले गर्न नसक्ने हुँदा यसको स्वामित्व सेफर वीरगंजलाई दिएको कोषाध्यक्ष शोभा थपलियाले बताएकी थिइन् ।
वीरगंज महानगरपालिका, वीरगंज उद्योग वाणिज्य सङ्घलगायत विभिन्न संस्था सम्मिलित वीरगंज सेफरले नगरपालिकाभरि सिसिटिभी क्यामरा जडान गर्ने लक्ष्य लिएको छ । यसमा बेलाबखत प्रदेश सरकार, सांसदहरूले पनि रकम सहयोग गर्दै आएका छन् । तर पनि आजसम्म वीरगंज मेनरोडमा १५७ वटा मात्र सिसिटिभी सञ्चालनमा छन् । वीरगंजका भित्री भाग तथा ग्रामीण क्षेत्रहरूमा यो सेवा पुग्न वर्षौं मात्र होइन, दशकौं लाग्ने स्पष्ट छ । यस्तोमा सबै नागरिकले यस कार्यमा होस्टेमा हैंसे गर्ने हो भने वीरगंजको सुरक्षा, अनियमित गतिविधिमा नियन्त्रणका साथै भरपर्दो शहरी वातावरण बन्न सक्छ । त्यस कारण त्रिमूर्ति टोल समितिले सबैका लागि यो कार्य उदाहरणीय बनोस् भन्ने लक्ष्य राखेर सेफर वीरगंजलाई सिसिटिभीको स्वामित्व हस्तान्तरण गरेको बुझिएको छ ।
हाम्रो समाजको लिने मात्र मानसिकता छ । सबै काम अरूले गरिदिनुपर्छ । आफ्नो जाँगर र पैसा किञ्चित खर्च हुनुहुँदैन भन्ने मानसिकताले गर्दा ‘सेफ वीरगंज’ बनाउने परिकल्पना कसरी सार्थक हुन सक्छ ? यसै कुरालाई बुझेर त्रिमूर्ति टोलले सम्पूर्ण कोष लगानी गरी आफ्नै टोलमा भए पनि सिसिटिभी जडान गरेको हो । पछि अरू टोल–वडाहरूले पनि सिको गरेर जनस्तरबाट यस्ता काम गरून्, सेफर वीरगंज, महानगरपालिका, उद्योग वाणिज्य सङ्घ वा कुनै संस्था वा व्यक्तिको मात्र भर नपरून् भन्ने त्रिमूर्ति टोलको कार्यले सन्देश दिएको छ । आफ्नोलागि हामी आफैंले गर्ने हो । अरूले गरिदिने भनेको विकासक्रमको स्वाभाविक गति मात्र हो । त्यसमा दशकौं लाग्न सक्छ वा नहुन पनि सक्छ । शहरमा विकृति भने ज्यामितीय गतिमा बढिरहेको हुन्छ । हिंसा, दुव्र्यसन, चोरी, उच्छृङ्खलता, जबरजस्तीका घटना हुन नदिन, भइहाले कारबाई गर्न सघाउने कार्य सिसिटिभीको मदतले विगतमा भएको हामी सबैले देख्दै आएका छौं ।