नरेश यादव, पर्सागढी, ४ पुस/

जाडोको सिजनमा अहिले माछाको बिक्री बढेको छ । यो परम्परागतरूपमा हुँदै आएको कुरा हो । जाडोमा माग बढी हुन्छ र माछा मार्ने काम पनि सोही अनुरूप बढ्ने गरेको छ । पर्सा जिल्ला केही वर्षदेखि माछामा आत्मनिर्भर भइसकेको छ । यसअघि छिमेकी भारतको आन्ध्र प्रदेशबाट ठूलो परिमाणमा माछा आउने गरेको थियो ।

बारा जिल्लाबाट पनि माछा पर्सामा बिक्री हुन्थ्यो तर अहिले पर्सा जिल्लामा उत्पादित माछा जिल्लामा खपत हुनुका साथै जिल्लाबाहिर र छिमेकी भारतमा समेत जाने गरेको छ । पर्सा जिल्लामा उत्पादित माछा सस्तो पनि भएकोले यसैले बजार लिएको छ ।

आन्ध्र प्रदेशबाट आउने माछा यसअघि जिल्लाका विभिन्न बजारमा पाइन्थ्यो तर अहिले स्थानीय माछाको उपलब्धतासँगै सस्तो पनि भएकोले सबैजना स्थानीय माछाप्रति रुचि देखाउँदै आएका छन् । पछिल्लो तथ्याङ्कमा पर्सा जिल्लामा एक हजार ५२० वटा पोखरी रहेको र यो अवधिमा कोरोनाको कारण थप पोखरी खनिएका छैनन् । कोरोनाअघि बर्सेनि २० वटाभन्दा बढी पोखरी थपिन्थ्यो ।

अहिले जिल्लामा निजीस्तरका २७ वटा मत्स्य नर्सरी र छवटा भुरा उत्पादन केन्द्र पनि छन् । पोखरीको लागि आवश्यक भुराको लागि बाहिर जिल्ला जानुपर्ने अवस्था पनि छैन । गत वर्षको तथ्याङ्क अनुसार पर्सा जिल्लामा ५७१.०७ हेक्टर जलाशय थियो र त्यसमा ४२१.७१ हेक्टरमा माछाखेती भएर तीन हजार १४४.३५ मेट्रिक टन खानयोग्य माछा उत्पादन हुँदै आएको छ । कोरोनाका कारण पोखरी थप नभएकाले यस वर्ष पनि यसै हाराहारीमा माछा उत्पादन भएको अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार प्रतिव्यक्ति तीन किलो माछा वार्षिकरूपमा खपत हुने गरेको छ । पोखरीमा माछाको मूल्य प्रतिकिलो रु १८० देखि तीन सयसम्म पर्ने गर्छ भने बजारमा रु तीन सयदेखि पाँच सयसम्ममा बिक्री हुने गर्छ ।

जाडोमा माछाको माग बढी

एक तथ्याङ्कले जाडोमा माछाको माग बढी हुने गरेको देखाएको छ । गर्मीमा माछा पकाएकै दिन खानुपर्ने अवस्था रहे पनि जाडोमा पकाएको माछा भोलि–पर्सिसम्म खान सकिने भएकोले चीसो मौसममा गर्मीको तुलनामा माछा स्वादिलो पनि हुने भएकोले माछाको माग बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । गर्मीको तुलनामा जाडोयाममा माछाको माग बढी हुने र मूल्य पनि बढ्ने हुनाले अधिकांश पोखरी भएका व्यक्तिहरूले यही सिजनमा माछा मार्ने गर्छन् ।

माझीको माग बढ्दो

जाडोमा माछा मार्नेहरूको माग बढेसँगै उनीहरूलाई भ्याइनभ्याइ छ । सामान्य अवस्थामा पोखरीबाट मारिने माछाको दश प्रतिशत माझीहरूले पारिश्रमिकको रूपमा लिने गर्छन् । तर अहिले पारिश्रमिकमा पनि केही बढोत्तरी हुने गरेको छ ।

चीसोमा गर्मीसरह नै पोखरीमा माछा मार्न सजिलो हुने गरेको माझीहरू बताउँछन् । गर्मीमा पानीको माथिको सतह तातो हुने र प्रवेश गरेपछि भित्री सतह चीसो हुने गरेकोले शुरूमा प्रवेश गर्दा समस्या भएपनि पछि रमाइलो हुने गरेझैं जाडोमा गर्मीको विपरीत पोखरीको माथिको सतह चीसो र भित्री सतह तातो हुने भएकोले माछा मार्न असहज नहुने माझीहरूको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here