प्रस, रक्सौल, ४ पुस/
भारतीय जनता पार्टी, रक्सौलको आयोजनामा तीन दिवसीय प्रशिक्षण शिविर सम्पन्न भएको छ । आइतवार शिविरको समापन गर्दै भाजपाका प्रदेश अध्यक्ष डा सञ्जय जयसवालले नेपालको विकास र समृद्धिका लागि भारत सदैव सकारात्मक रहेको बताए ।
उनले भारतले नेपालसहित, बङ्गलादेश, श्रीलङ्कालगायतका देशको विकासमा हरसम्भव प्रयास गरिरहेको दाबी गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनले सन् २०१४ अघिको प्रधानमन्त्री र त्यसपछिको प्रधानमन्त्रीमा धेरै ठूलो भिन्नता रहेको बताए । उनले चीनसँगको सबै सीमावर्ती क्षेत्रमा सडक निर्माण गरेको, राफेल विमान ल्याएको र कोरोनाकालमा पनि मोदीले निकै ठूलो काम गरेर भारतको विश्वमा पहिचान बढाएको बताए ।
डा जयसवालले रक्सौल–काठमाडौं रेलको लागि काम तुरुन्त शुरू हुने बताए । उनले बिहार क्षेत्रमा उद्योगको आवश्यकता भएको बताए । उद्योग स्थापनाबाट रोजगारको समस्या धेरै हदसम्म समाधान हुने उनले बताए ।
भाजपा जिल्ला अध्यक्ष वरुण सिंहको अध्यक्षतामा भएको प्रशिक्ष्Fण उद्घाटन कार्यक्रममा विधायक प्रमोदकुमार सिन्हाले स्वागत र पूर्वसांसद साबिर अलिले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा प्राडा अनिलकुमार सिन्हा, भाजपाका पूर्व जिल्ला अध्यक्ष प्रमोदशङ्कर सिंहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण अशोककुमार पाण्डेले गरेका थिए ।