प्रस, निजगढ, ४ पुस/
छ महीनाअघि रतनपुरी अस्थायी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्ष्Fक शम्भुप्रसाद यादवले गाँजा तस्करसँग सात लाख रुपैयाँ बार्गेनिङ गरी छोडिदिएका चारजना अभियुक्तमध्ये एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरी शनिवार बारा प्रहरीलाई बुझाएको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका– १२ रामथलीका ३० वर्षीय सोमबहादुर थिङ रहेको र उनलाई मकवानपुरको नामटारबाट राति पक्राउ गरिएको हो ।
गत जेठ ३१ गते राति बाराको निजगढ नगरपालिकाको रतनपुर जङ्गलमा गाँजा तस्कर थिङ र प्रहरी इन्चार्ज यादवबीच मोटो रकमको बार्गेनिङ भएको खुलासा भएको थियो । पक्राउ परेका थिङले रतनपुर अस्थायी प्रहरी चौकीका तत्कालीन इन्चार्ज यादवले आफूसँग घटनास्थलमा सात लाख रकम माग गरेको र उक्त रकम दिन नसक्ने भनेपछि अढाई लाख रुपैयाँ भोलि दिने सहमतिमा गाँजा लोड अटो नियन्त्रणमा लिई आफूलाई छोडिदिएको बताएका थिए ।
त्यस रात घटनास्थलमा दिनेश लामाले चलाएको मोटरसाइकलको पछाडि बस्ने मलाई चाहिं प्रहरीले नियन्त्रणमा लिई हतकडी लगाउने तर दिनेशलाई भने प्रहरीले केही नगरी खासखुस कुरा गरी छोडिदिएको अभियुक्त थिङले फरार हुनुअघि र सो घटना भएको केही दिनपछि प्रतीककर्मी जीतलाल श्रेष्ठलाई बताएका थिए ।
रतनपुरकै गाँजा तस्करी दिनेश लामाले प्रहरी इन्चार्ज यादवसँग मिलेमतो गरी आफूलाई फसाएको आशङ्कासमेत थिङले गरेका थिए । ६० किलो गाँजा, अटो, मोटरसाइकल प्रहरीले त्यसै बेला नियन्त्रणमा लिए पनि सोलाई छुटाउन भन्दै त्यस बेला लामाले आफूलाई चर्को दबाब दिएको बताएका थिए ।
सो घटना बाहिर आएसँगै जिल्ला प्रहरी कार्यालय, बाराले प्रहरी निरीक्षक भरत अधिकारीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान तथा छानबीन टोली गठन गरी अनुसन्धान शुरू गरेको थियो । तर घटनामा संलग्न चारैजना प्रहरीसँग सम्पर्कविहीन भएपछि अनुसन्धानले पूर्णता पाउन सकेको थिएन ।
घटनालाई निष्कर्षमा पु¥याउन सकिने अधिक सम्भावना अभियुक्त थिङ पक्राउ परेपछि भएको छ । घटनाबारे यता निजगढ नगरपालिका–११ स्थित अस्थायी प्रहरी पोस्ट रतनपुर, बाराका तत्कालीन इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवले भने उक्त आरोप निराधार भएको जिकिर त्यसै बेला गरेका थिए ।
घटनामा प्रहरीले बार्गेनिङ गरेको समाचार प्रकाशित भएपनि रतनपुर अस्थायी प्रहरी चौकीका इन्चार्ज यादवलाई तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो ।
घटनामा संलग्न फरार अभियुक्तहरूले त्यसयता गाउँ नै छाडेका थिए । उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भएपनि घर र उनीहरू बस्ने सम्भावित स्थानहरूमा खोजतलाश गर्दा समेत फेला नपरेको इप्रका, निजगढका प्रहरी निरीक्षक शङ्कर चौधरीले जानकारी दिए । प्रहरीले उनीहरूको खोजी गर्ने क्रममा ५/७ स्थानमा छापामारी गरेको र यस क्रममा अभियुक्त दिनेश लामाले चढ्दै आएको पल्सर मोटरसाइकल तीन महीनाअघि नियन्त्रणमा लिन सकेको थियो ।
गाँजा मकवानपुरको हटिया भोगटेबाट सोही दिन ल्याइ बुङ्गजोर फूटबल चउरको जङ्गलमा लुकाइ राति लोड गरी निजगढतर्फ लैजान लागेको रहस्य खुलेको थियो । तर यसरी ल्याइने गाँजा किन्ने व्यापारीहरूका बारे भने प्रहरीले केही जानकारी दिएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापासँग बुझ्दा प्रहरीले थिङसँग सोधपुछ शुरू गरिसकेको र घटनाको सूक्ष्म अनुसन्धान गरी दोषी देखिए संलग्नलाई कानूनी कारबाई गरिने बताए ।