- राजेश मिश्र
‘नौ बजे के साइरन बाज गइल हो, झटकल चल लोगन’ अर्थात् नौ बजेको साइरन बज्यो है, तीव्र गतिमा हिंडौं भन्दै देहातबाट वीरगंज आउने मानिसहरूले एकले अर्कोलाई भन्थे । साइरन यति ठूलो ध्वनियुक्त थियो कि वीरगंज वरिपरि झन्डै ७/८ किमी टाढासम्म साइरनको ध्वनि गुञ्जायमान हुन्थ्योे । रातिको शान्त वातावरणमा अनुमानभन्दा पनि टाढासम्म साइरनको ध्वनि प्रतीत हुन्थ्यो ।
पर्सा र बाराका ग्रामीण क्षेत्रका साथै सीमापारि टाढाका बस्तीहरूमा वीरगंज चिनी कारखानाको साइरन मज्जाले सुनिन्थ्यो । हुनत चिनी कारखाना ठूलो क्षेत्रफलमा फैलिएकोले कारखानाका कर्मचारीहरूलाई सूचित गर्नका लागि ठूलो ध्वनि भएको साइरन प्रयोगमा ल्याइएको थियो । यद्यपि उक्त साइरन नितान्तरूपमा सर्वसाधारण मानिसहरूका लागि समेत समयको सूचक थियो। साइरनको ध्वनि कानमा पुगेपछि कारखानाका कर्मचारीहरूलाई काममा जाने तर्खरता त बढ्थ्यो नै साइरनले आममानिसहरूलाई समेत समयको बोध गराउँथ्यो । मजदूर, किसान, व्यापारी वा कर्मचारी जो जहाँ हुन्थे, उनीहरूलाई साइरनको आवाज सुन्ने बित्तिकै गन्तव्यमा पुग्ने व्यग्रता बढ्थ्यो ।
चिनी कारखाना सञ्चालनमा रहँदासम्म पर्सादेखि सर्लाहीसम्मका किसानहरूको चासो उखुको उत्पादनमा केन्द्रित थियो । चिनी कारखानाको अवसानसँगै यस क्षेत्रमा उखुखेती अपवादबाहेक लोपोन्मुख छ । उहिले नगदेबालीको रूपमा उखुबाली नै किसानहरूका लागि आय आर्जनको प्रमुख स्रोत थियो । यसको अलावा जाडोको मौसममा पशुका लागि आहार र जाडो छल्ने तथा खाना पकाउने इन्धनकोे रूपमा उखुखेती उत्तम स्रोत थियो ।
कृषि उब्जनीहरूमध्ये उखुको खेती सबैभन्दा सरल, सहज र कम लागतमा अधिक आम्दानी हुने कृषि उपज हो । उखुखेतीको लागि सामान्य सिंचाइ उपलब्ध भए पुग्छ । एकपटक रोप्यो भने कम्तीमा पनि तीनपटक लाभ प्राप्त गर्न सकिने उखुखेतीप्रति यसै कारण किसानहरू आकर्षित हुन्छन् । तर के गर्नु वीरगंज चिनी कारखानाको अवसान भइसकेपछि साइरनको ध्वनि, उखुखेती, किसानको खुशी, रोजगार आदि सबै अवरूद्ध भए ।
किसानहरूलाई केवल उखु काट्न तथा गाडामा लोड गर्नका लागि मात्र मजदूर आवश्यक पथ्र्यो । उखुको ‘गेल्हा’ (माथिल्लो हरियो टुप्पो) र ‘पगाड’ (सुकेको पात)को लागि गाउँ तथा आसपासका मानिसहरू स्वतः खेतमा आइपुग्थे । जाडोयाम शुरू भएसँगै वीरगंज चिनी कारखाना सञ्चालन हुन्थ्यो । उत्पादन शुरू हुन्थ्यो । चिनीको उत्पादन गर्नको लागि चाहिने कच्चा पदार्थ अर्थात् उखुले सरेह भरिभराउ हुन्थ्यो । मङ्सिरदेखि फागुनसम्म उखु कटानी र ढुवानी हुन्थ्यो । पर्सा, बारा र रौतहटलगायत देहातका विभिन्न स्थानमा वीरगंज चिनी कारखाना मातहतका उखु सङ्कलन केन्द्र थिए ।
उखु सङ्कलन केन्द्रमा जोख्ने कार्य हुनाले स्थानीयहरूले उक्त स्थानलाई ‘काँटा’ भनेर सम्बोधन गर्दथे । किसानहरू उखु सङ्कलन केन्द्रसम्म अधिकांश किसान बयलगाडा तथा नगन्य किसान ट्याक्टरमार्फत उखु ढुवानी गर्दथे । त्यहाँबाट चिनी कारखानाको ठूलो इन्जिन र दुईवटा टेलर भएको ट्याक्टर उखु लोड गरी वीरगंज पुग्थ्यो । उखु ढुवानी गर्ने उक्त ट्याक्टर कृषि कार्यमा प्रयोग हुने सामान्य ट्याक्टरभन्दा आकारमा धेरै ठूलो र बलियो थियो । अहिले उक्त ट्याक्टर सपनामा सीमित भइसकेको छ ।
जाडोयाम शुरू भएसँगै देहातमा आगो ताप्ने उपक्रमहरूमध्ये ‘पगाड’ पनि एक थियो । गोधूलि नहुँदै गाउँहरूमा पगाडको धूवाँ जताततै देख्न सकिन्थ्यो । राति अबेरसम्म मानिसहरू आगो ताप्दै कुराकानी गरिरहन्थे । खेतीपातीमा आधारित कुराकानी नै देहाती मानिसहरूको प्रमुख प्रसङ्ग हुन्थ्यो । किनभने देहात पूर्णरूपेण कृषिमा आधारित र निर्भर थियो । दूरदराजका मानिसहरू जसले चिनी कारखानाको साइरनको ध्वनि वीरगंजमा सुनेका थिए, उनीहरू घुर ताप्दै चिनी कारखाना र साइरनको बखान गर्दथे ।
केटाकेटीहरू उत्साहपूर्वक सुन्थे । आफू कहिले ठूलो भइएला ? कहिले वीरगंज जान पाइएला ? कहिले साइरनको ध्वनि अनुभूति गर्न पाइएला ? भन्दै हर्षविभोर हुन्थे । जाडोयाममा खानाभन्दा पनि मीठो लाग्ने घुर ताप्दै मानिसहरूलाई समय बितेको आभास नै हुन्थेन । जब चिनी कारखानाको साइरनको आवाज कानमा पुग्थ्यो, तब मानिसहरू घुर छाडेर फुर्र हुन्थे । नुहाउँथे, खान्थे र आआफ्ना काममा लाग्थे । वीरगंज आसपासका मानिसहरूको दिनचर्या नितान्तरूपमा साइरनको ध्वनिसँग आबद्ध थियो ।
साइरनको आवाज कानमा पुगेपछि भान्साघरमा महिलाहरूको सक्रियता तीव्र हुन्थ्यो । चिनी कारखानाको साइरन बज्नासाथ घरका पुरूषहरू खाना खान हतारिंदै आइपुग्थे । समयमा खाना पकाउनु गृहिणी महिलाहरूको नित्यकर्म थियो । जति बिहान उठे पनि भान्साको काम गर्दागर्दै समय गएको पत्तो नै हुँदैन थियो । महिलाहरू पुरूषहरूभन्दा पहिले उठ्नुपथ्र्यो । किनभने सरेहमा जानुपर्ने भएकोले उज्यालो हुनुअगावै शौचादिको कामबाट निवृत्त हुनु महिलाहरूका लागि पहिलो चुनौती थियो । त्यसपछि घर व्यवहारको काममा जुट्नुपथ्र्यो । पुरूषहरू विभिन्न प्रयोजनार्थ शहरतिर जाने हुनाले निर्धारित समयमा खाना पकाउनु महिलाहरूका लागि दोस्रो चुनौती थियो । माटोको चुलो र प्राकृतिक इन्धनको भरमा खाना पकाउनु कम चुनौतीपूर्ण थिएन।
यता पुरूषहरू भने उठ्ने बित्तिकै शौचका लागि लोटा वा बोतलमा पानी लिएर सरेहतर्फ लाग्थे । शौचादिबाट निवृत्त भएपछि उतैबाट खेतमा जान्थे । अन्नबाली निरीक्षण गर्दथे । खेतबाट फर्केपछि प्रायःजसो पुरूषहरू घुर ताप्ने ठाउँमा जम्मा हुन्थे । घुर ताप्दै अन्य कुराकानी त हुन्थ्यो नै प्रमुख प्रसङ्ग उखु र चिनी कारखानाको हुन्थ्यो । कुरैकुरामा समय बितेको पत्तो नै हुँदैन थियो । जब चिनी कारखानाको साइरन बज्थ्यो, पुरूषहरू लखतरान घरतर्फ दौडिहाल्थे । साइरनको ध्वनि गुञ्जायमान भएपछि महिलाहरूको कार्यप्रगति तीव्र हुन्थ्यो ।
किनभने उनीहरूलाई थाहा थियो, अब पुरूषहरू दौडेर घर आइपुग्छन् । इनार, पोखरी वा चापाकलमा नुहाउन जान्छन् । त्यसपछि खाना खानको लागि घाममा बसेर कराउँछन्, “सुनतारू हो १ खायक अभिले नइखे बनल का ? जथी बन गइल बा, उहे ले आव जल्दी । काम पर जाएके बा, देरी होता ।” अर्थात् सुन्यौ १ खाना अहिलेसम्म पाकेको छैन कि क्या हो ? जे पाकेको छ, त्यही लिएर आऊ, काममा जान ढिलो भयो ।
निर्धारित समयमा नियमित बज्ने साइरनको कर्णप्रिय ध्वनिका साथै वीरगंज चिनी कारखाना जीविकोपार्जनको प्रमुख आधारस्तम्भ थियो । रोजगारको प्रशस्त आधार अहिले खण्डहरमा परिणत भइसकेको छ । पर्सा र बारामा मात्रै दर्जनौं उदीयमान नेतागण छन् । उनीहरू विकास र रोजगारको भाषण दिन भ्याउँछन् । तर चिनी कारखानाको उत्थानप्रति चासो कसैमा देखिंदैन । प्रत्यक्षरूपमा हजारौं किसान तथा कर्मचारी र अप्रत्यक्षरूपमा असीमित साना व्यवसायीहरूको रोजीरोटी वीरगंज चिनी कारखानामा निर्भर थियो । उहिले दैनिक सुनिने उक्त चिनी कारखानाको साइरन घामपानीको प्रकोपले अस्त भएको होइन, सरकारी र राजनीतिक अन्धदृष्टिका कारण ध्वस्त भएको हो । उहिलेका पुस्ता अहिले उक्त ध्वनि केवल स्मृतिमा महसूस गर्न सक्छन् भने अहिलेका पुस्ता उहिलेको त्यो ध्वनि केवल कल्पना मात्र गर्न सक्छन् ।
के वीरगंज चिनी कारखानाको त्यो साइरन पुनः सुन्न पाइएला ? आकाश छुने चिमनीको कालो धूवाँ फेरि हेर्न पाइएला ? के देश विकासका नारा घन्काउनेहरूमध्ये कोही चिनी कारखानाको पुनरूत्थानको लागि पहल गर्ला ? नयाँ उद्योगहरू थप तथा रोजगारको सिर्जना गर्नुपर्ने आवश्यकता रहेका बेला पुराना कैयौं उद्योग खण्डहरमा परिणत हुनु लाजमर्दो कुरा अरू के हुन सक्छ । रोजगारको अभावमा युवा जनशक्ति विदेश पलायन हुन बाध्य छ । थोरै शब्दमा वीरगंज चिनी कारखानाको कथा–व्यथा र सरकारको अन्धदृष्टि बयान गर्न सकिंदैन ।