रामेश्वर मेहता, सिम्रौनगढ, २ पुस/

आलुखेतीका लागि चर्चित सिम्रौनगढ इलाकामा अहिले काउलीखेती बढ्दो छ । किसानहरूले नगदेबालीको रूपमा काउलीखेतीमा आकर्षण देखाएका छन् । यसअघि यस क्षेत्रमा आलुको खेती प्रचुर मात्रामा हुँदै आएको थियो । सिम्रौनगढलाई आलुखेतीको रूपमा चिनिन्थ्यो भने अहिले काउलीको खेती बढ्दो छ । काउलीखेतीबाट मनग्य आम्दानी हुने भएकोले यसतर्फ किसानहरूको आकर्षण बढेको सिम्रौनगढ नपा–७ खजानीका किसान राजकुमार कुशवाहा बताउँछन् ।

सिम्रौनगढमा उत्पादन हुने काउली अहिले कलैया, वीरगंज, गौर, जनकपुर, चन्द्रनिगाहपुर, हेटौंडा, काठमाडौंसम्म पुग्ने गरेको छ । यसैगरी, सीमावर्ती भारतको घोडासहन बजारसम्म पनि काउली पुग्छ । बीस वर्षअगाडि सिम्रौनगढ क्षेत्र गाँजाखेतीमा चर्चित थियो ।

गाँजाखेतीको विकल्पमा यहाँका किसानहरू आलुखेती गर्दै आएका थिए तर पछिल्लो चरणमा काउलीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरूले काउलीखेती गर्न शुरू गरेका हुन् । अहिले सिम्रौनगढ इलाकाको गोलागंज, अमृतगंज, हरिहरपुर, सलेमपुर, जानकीनगर, झवानी, कमलपुर, अमरपुर, देवापुर टेंटा, कचोर्वालगायतका क्षेत्रमा तीन सय बिघा बढी खेतमा काउलीखेती गरिएको छ ।

सिम्रौनगढ कृषि शाखाले जनाए अनुसार यो क्षेत्रमा रोपिने काउलीमा हाइब्रिड, सेमनिज र सजन्डा जातका छन् । यी काउली एकदेखि तीन किलो वजनसम्म उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ ।

काउलीखेती बढे पनि योसँगै समस्या पनि बढेको छ । किसानहरूले सहजरूपमा मल, औषधि पाउन सकेका छैनन् । यसैगरी, यसमा लाग्ने रोग सम्बन्धमा कृषि शाखामा विज्ञहरू राखिएका छैनन्, जसले गर्दा किसानहरूले बेलाबखत काउलीमा लाग्ने रोगविरुद्ध कार्य गर्न सकेका छैनन्। रोग लागेको खण्डमा ठूलो लगानी डुब्ने खतरा यथावत् छ । कृषि शाखालाई यहाँ गरिने तरकारीखेतीसम्बन्धी विज्ञहरू राख्न किसानहरूले बेलाबखत आग्रह गर्दै आएपनि सुनवाइ भएको छैन । विज्ञहरू राखिएको खण्डमा यस क्षेत्रमा अझ बढी काउलीखेती फस्टाउने किसानहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here