प्रस, वीरगंज, २ पुस/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस ८ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा एमाले प्रदेश २ को आज वीरगंजमा बसेको बैठकले एमाले महाधिवेशनपछि पार्टी अध्यक्ष ओलीको प्रदेश २ मा हुन लागेको पहिलो जनसभालाई भव्यरूपमा सम्पन्न गर्न निर्णय गरेको छ। एमालेका प्रदेश इन्चार्ज रघुवीर महासेठले महाधिवेशनपछि अध्यक्ष ओलीको प्रदेश २ मा पहिलो जनसभा हुन गइरहेकोले सो सभालाई भव्यरूपमा सम्पन्न गर्न सहभागी सबै जिल्ला इन्चार्जहरूलाई निर्देशन गरे । उनले पर्सा जिल्लाबाट पचास हजार र अन्य जिल्लाबाट पचास हजार गरी एक लाख मानिस उतार्ने गरी तयारी गर्न निर्देशन दिए ।
बैठकमा एमालेका नेताहरू लीलानाथ श्रेष्ठ, प्रभु साह, अच्युत मैनाली, पुरूषोत्तम पौडेललगायतले जनसभाको भव्य तयारीमा जुट्न जिल्ला इन्चार्जहरूलाई सुझाव दिएका थिए । कार्यक्रममा जगरनाथपुर गापाका प्रमुख जालीम मियाँले पर्सा क्षेत्र नं ४ बाट पन्ध्र हजार मानिस सहभागी गराउने घोषणा गरे । बैठकमा ज्वाला साह, राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रभु हजरा, देवनारायण चौधरी, लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव मनोज गुप्ताले गरेका थिए ।