- समीर पाख्रिन
उषा ः उसैले प्रोपोज गर्छ कि जस्तो छ ।
मनीषा ः कुन्नि है केटा ह्यान्डसम रहेछ, अर्कैले हात पार्ला नि । ल उषा, कृष्णा घरसंँगै जानुपर्छ है भरै ।
तीनैजना कक्षामा प्रवेश गर्छन् ।
०००
समय ः मध्याह्न । स्थान ः नवलपुरस्थित प्रीतमको घर ।
प्रीतमकी पत्नी रीताले प्रीतमलाई पटक–पटक वीरगंज गएकोबारे केरकार गर्दैछे ।
रीता ः भन त, तिमी अस्ति कामले वीरगंज गएका थियौ ? हिजोआज तिम्रो ध्यान बिल्कुल घरपरिवारमा छैन । एकान्तमा बसेर घण्टौं मोबाइलमा कुरा कोसित गर्ने गरेको छौ भन ?
प्रीतम ः पार्टीसित कुरा हुँदैन व्यापारी मान्छेको ? (झर्केर) कहाँ जाँदैछु कोसित फोनमा कुरा गर्दैछु ? सबैकुरा तँलाई भन्नै पर्छ ? के तैले ममाथि शङ्का गर्न खोजेकी त होइनस् ?
रीता ः हो, तिम्रो गतिविधि नै शङ्कास्पद छ । अस्ति पनि बाइक बिग्रेर बाटोमा छु भन्यौ । आखिर तिमी त शहीद स्मारकबाट पो झरिरहेका थियौ अरे त ?
प्रीतम ः कसले भन्यो शहीद स्मारकबाट झरिरहेको थिएँ भनेर ?
रीता ः देख्नेले भनेको । हेर प्रीतम तिमी छोराछोरीको बुबा भन्ने कुरा नबिर्स है ।
छोरोछोरी ः (छोराछोरी किताबको झोला बोकेर बाहिर आउँछन्) बाबा, जाऔं ।
प्रीतमले छोराछोरीलाई बाइकमा राखेर बोर्डिङ लिएर जान्छ ।
०००
समय ः दिउँसो । स्थान ः क्याम्पसको कक्षा कोठा ।
कक्षामा पढाइ चलिरहेकै बेला उषाको मोबाइलको घण्टी बज्छ । उषाले खल्तीबाट मोबाइल झिकेर कसको कल रहेछ भनी हेरेकी मात्र हुन्छे । प्राध्यापकले उषाको ध्यान आकर्षण गर्छन् ।
प्राध्यापक ः उषा, तिम्रो ध्यान कहाँ छ ? कक्षामा मोबाइल खोलेर बस्ने हो ? खै लेऊ तिम्रो मोबाइल ।
उषा ः सरी सर, सरी । स्वीच अफ गरेर राखें । (प्यान्टको खल्तीमा राख्दै)
प्राध्यापक ः मोबाइल त क्याम्पसमा ब्यान्ड नै गर्नुपर्ने हो ।
यत्ति नै बेला प्राध्यापकको खल्तीको मोबाइलमा घण्टी बज्छ ।
फेरि क्लास टाइममा कसले फोन ग¥यो ? हेलो, ए शशी तिमी ? अँ भन, के टमाटर, धनिया, मूला अनि खसीको मासु अरे ? ल ल म क्लासमा छु । अब कल नगर्नु है क्लास डिस्टर्ब हुन्छ ।
मनीषा ः सर, यो मोबाइल त क्याम्पसमा ब्यान्ड नै गर्नुपर्ने हगि ? बेला न कुबेला घरबाट म्याडमहरूको कल आएर क्लास नै डिस्टर्ब हुन थाल्यो । सबैजना गललल हाँस्छन् ।
प्राध्यापक ः सरी, सरी ।
हतारहतार मोबाइल साइलेन्ट मोडमा राखेर पढाउन थाल्छन् ।
०००
समय ः अपराह्न । स्थान ः इमानसिंह हवल्दारको डेरा । सुशीला र इमानसिंह दुवै सरूवाको विषय लिएर खिन्न र चिन्तित देखिन्छन् ।
सुशीला ः अब तीन वर्षको लागि फेरि झिटीमिटी बोकेर जानुपर्ने भो हगि बूढो ?
इमान सिंह ः यतै पेन्शन पकाउन पाएको भए कति राम्रो हुन्थ्यो । छोरीको पढाइ पनि सकिने थियो ।
सुशीला ः रामशङ्कर सरलाई भेटेर एकचोटि कुरा गर्नोस् न ।
इमान सिंह ः खै, के गर्ने–गर्ने ? सा¥है टेन्शन भयो ।
सुशीला ः रामशङ्कर प्रभावशाली नेता हुनुहुन्छ । उनको पहुँच मन्त्रालयसम्म छ । कतै थमौती गरिदिन्छन् कि ?
इमान सिंह ः सुशे, तैले ठीकै भनिस्, एकचोटि भेटी हेरौं । हुनत मैले अझसम्म स्वाभिमान झुक्ने काम गरेको छैन । तैपनि एकचोटि भनी हेर्छु ,बरू म गएँ ।
इमान सिंह डेराबाट प्रस्थान गर्छन् ।
सुशीला ः छोरीको पढाइ बिग्रन्छ भन्नोस् न । अनि आउँदा एक बिटो रायोको साग पनि लिएर आउनोस् है ।
हवल्दार ः जतिबेला पनि सागै मात्र ल्याऊ भन्छे । हैन ए सुशीला पहिलेको जुनीमा चौपाया पो थिइस् कि क्या हो ?
सुशीला ः त्यही हरियो सागसब्जी खाएको छु र त, अहिलेसम्म चश्मा लगाउनुपरेको छैन ।
०००
समय ः बिहानीपख । स्थान ः घडीअर्वा पोखरी परिसर । प्रातः भ्रमणमा निक्लिएकाहरू तीव्र गतिमा पोखरी वरिपरि हिंडिरहेका छन् । क्रमशः