राधेश्याम पटेल, वीरगंज, २९ मङ्सिर/
वीरगंजमा रु ५५ करोड लागतमा अर्को सुविधासम्पन्न अपार्टमेन्टको निर्माण कार्य शुरू भएको छ। घण्टाघरको पश्चिमपट्टि पानगल्ली क्ष्Fेत्रमा गोकुल अपार्टमेन्टको निर्माण कार्य शुरू भएको हो। वीरगंजका व्यवसायी शुभम रूँगटा र अन्य केही लगानीकर्ताको संयुक्त लगानीमा यो अपार्टमेन्टको निर्माण कार्य शुरू भएको हो। अढाई महीनाअगाडि अपार्टमेन्ट निर्माण गर्ने ठेक्का पाएको हिमालय बिल्डर्स एन्ड इन्जिनीयर्स, काठमाडौंसँग सम्झौता भई डिसेम्बर १४ देखि निर्माण कार्य शुरू गरिएको बिल्डर्सका प्रोजेक्ट इन्जिनीयर अमरेश तिवारीले जानकारी गराए।
करीब ८ कट्ठा जग्गामध्ये ७ कट्ठामा निर्माण हुने यो अपार्टमेन्ट १३ तलाको हुनेछ। अपार्टमेन्टको भुइँतला मात्र १ हजार ३४ वर्गमिटर रहने जनाइएको छ। २० महीनामा निर्माण सम्पन्न गरिने उक्त अपार्टमेन्टमा ४२ वटा फ्ल्याट हुनेछ।
त्यसैगरी, अपार्टमेन्टको भुइँतलामा ३५ वर्गमिटर क्षेत्रफलको स्वीमिङ पुल, चारवटा पसल, पार्किङ, सैलुन, मन्दिर, लिफ्ट, कम्युनिटी हल र क्लब हाउसलगायत रहनेछ भने अपार्टमेन्टको वरपर बाटो र बगैंचा तथा आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रण उपकरण जडान गरिनेछ।
अपार्टमेन्टको ११औं देखि १३औं तलासम्म दुई तलाको एउटा फ्ल्याट बन्ने र सो फ्ल्याट पेन्ट हाउस प्रकृतिको हुने इन्जिनीयर तिवारीले बताए। कुन फ्ल्याट कतिमा बिक्री गर्ने टुङ्गो नलागेको लगानीकर्ताहरूले बताएका छन्।