‘कृषिप्रधान देश नेपाल’ नारा पुरानो हो। नेपाली राजनीतिमा क्रियाशील प्रायः सबैलाई यो नारा कण्ठस्थै हुनुपर्छ। मुलुकमा करीब ७० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ। सोमध्ये झन्डै ७५ प्रतिशतले जीवननिर्वाहकै लागि मात्रै कृषि पेशा अपनाएका छन्। सोमध्ये कृषि पेशालाई व्यावसायिक बनाउनेको सङ्ख्या भने २५ प्रतिशतभन्दा कम  छ। यो तथ्याङ्कले कृषिको व्यावसायिकता कमजोर रहेको देखाउँछ। कृषिलाई व्यावसायको रूपमा अँगाल्नुपर्छ भन्ने सोच युवा पुस्तामा अभाव छ। केही युवा व्यावसायिक बन्न खोजे पनि थोरै समयपछि पलायन हुने गरेका छन्। यसका कारणहरू धेरै छन्। कृषि उपजको बजार अभाव, उत्पादन, ढुवानी तथा यातायातमा समस्या, कृषि मजदूर अभाव, बालीको समयमा उन्नत बीउ, गुणस्तरीय मल र सिंचाइ, दक्ष प्राविधिकको अभावलगायतका समस्याहरू छन्। उक्त समस्याहरू प्रायः कृषि क्षेत्रप्रति सरकारी उदासीनताका कारण सिर्जित हुन्।

बजारमा हाम्रै कृषकले उत्पादन गर्ने किसिमका वस्तु पाइन्छ। तर नेपाली उत्पादनभन्दा पनि बजार छिमेकी मुलुक भारत, चीनसहित तेस्रो देशबाट आयात गरिएका  कृषिजन्य वस्तु बिक्री भइरहेका छन्। नेपाली उत्पादन बजारसम्म नआइपुगेकाले विदेशी उत्पादन बिक्री गर्नुपरेको विक्रेताहरूको भनाइ छ। नेपाली कृषकले उत्पादन गरेका वस्तु समयमा बजार आइनपुग्नुको मुख्य कारण पहुँचको अभाव हो। नेपाली उत्पादनले बजार नपाएको समाचार  धेरै आउँछन्। त्यसैगरी, मूल्य नपाउँदा गाउँका कृषकले दूध सडकमा पोखेको, गोलभेंडा बाटोमा फालेको, मकै कुहिएका घटनाहरू धेरै छन्। यसरी बजार नपाएको, मूल्य नपाएको कृषि उत्पादनको मूल्य भने हाम्रै शहरबजारमा छोइसक्नु छैन। बाहिरी मुलुकबाट आयातित कृषि उपजले बजार ढाकेको र सोही वस्तु उपभोक्ताले खरीद गर्दा महँगो परेको हो। ढुवानी अभावसँगै यहाँ बिचौलियाहरूको सिन्डीकेट छ। उपभोक्तालाई जतिसुकै महँगो परे पनि बिचौलियाहरूलाई विदेशी उत्पादन आयात गर्दा नै बढी फाइदा छ। यस कारण पनि बिचौलियाहरू स्वदेशी कृषकलाई सकभर बजारसँग जोड्न चाहँदैनन्। बजारसम्म कृषकको पहुँच भएमा उत्पादक र उपभोक्ता जोडिन्छ भन्ने ठूलो पीर बिचौलियाहरूलाई छ। धेरै फाइदाका लागि उनीहरूले कृषकलाई अति न्यून मूल्य दिने हुँदा कृषि उत्पादन सडकमा फ्याँक्नुपरेको हो।

माफिया तथा बिचौलियाहरूका लागि नेपाली उत्पादनभन्दा विदेशी उत्पादन सस्तो पर्ने तर मूल्य भने बढी पाउने भएकाले उनीहरूको प्रयास विदेशी उत्पादनमा नै केन्द्रित छ। हाम्रो कृषिमा मेशिन उपकरणभन्दा जनश्रमकै भर छ। यसले गर्दा लगानी महँगो पर्ने एकातर्फ छ भने मल, बीउ, सिंचाइ एवं कृषि प्राविधिक पर्याप्त मात्रामा उपलब्ध नहुँुँदा त्यसतर्फ पनि कृषककै लगानी छ। अतः अन्य मुलुकमा कृषकले पाउने सेवा, सुविधा एवं सहुलियत हाम्रो मुलुकका कृषकले नपाएकै कारण बिचौलियाले चाहेको दरमा कृषकले उत्पादन दिन नसकेको हो। कृषकलाई उत्पादक भूमिकामा मात्रै राखेर आवश्यक सम्पूर्ण प्रबन्ध सरकारले मिलाइदिने हो भने हाम्रो कृषि क्षेत्रले विदेशीसँग सहजै प्रतिस्पर्धा गर्न सक्छ। मुलुकमा स्वरोजगारका लागि कृषिले ठूलो टेवा पु–याउनुका साथै स्वदेशी मुद्रा विदेशिनबाट रोकेर व्यापार घाटा कम गर्न सकिन्छ। कुल गार्हस्थ उत्पादनमा कृषिको प्रतिशत जति बढाउन सके उति नै मुलुकको आत्मनिर्भरता र स्वाभिमान उँचो हुने हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here