प्रस, वीरगंज, २८ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय, पर्साको संयुक्त आयोजना तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको सहकार्यमा हिजो सोमवारदेखि शुरू भएको एक हप्ते ट्राफिक सचेतना अभियान अन्तर्गत मङ्गलवार दोस्रो दिन वीरगंज महानगरका केही स्थानमा सचेतना अभियान भएको छ। वीरगंज महानगर अन्तर्गत सुक्खा बन्दरगाह, परवानीपुर र विभिन्न स्थानमा रहेका ट्राफिक चेकपोस्टमा चालक, सहचालक र पैदल यात्रीहरूलाई ट्राफिक नियम कानूनबारे सचेत गराइएको थियो। दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान प्रभावकारी देखिएपछि साताव्यापी कार्यक्रमको आयोजना गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनबाट ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउँदै छ भने एफएम रेडियोबाट पनि यसबारे कार्यक्रमहरू भइरहेका छन्। यसैगरी, ट्राफिक प्रहरी र ग्रीन सिटीलगायतका संस्थाहरूको सहयोगमा सचेतनामूलक पम्पलेट चालक, सहचालक, पैदल यात्रीहरूका साथै विद्यार्थीहरूलाई समेत उपलब्ध गराइएको थियो।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले दोस्रो दिन सुक्खा बन्दरगाह, परवानीपुर र ट्राफिक चेकपोस्टहरूमा यसबारे सचेतना गराइएको बताए।