प्रस, परवानीपुर, २८ मङ्सिर/
वीरगंजको प्रतिष्ठित औद्योगिक घराना रूँगटा समूहका उद्योगपति सुरेश रूँगटाकी कान्छी छोरी उज्ज्वला रूँगटाले वीरगंजमा ‘दी केकरी’ पसल शुरू गरेकी छन्। वीरगंजको मुटु मानिने आदर्शनगरमैं निर्माण भएको रूँगटा मलको ग्राउन्ड फ्लोरमा २८० वर्गफिट क्षेत्रफलको पसलबाट उनले उद्यममा हात हालेकी हुन्।
पसलको जसपा नेता तथा पर्सा क्षेत्र नं १ का सङ्घीय सांसद प्रदीप यादवले उद्घाटन गरेका थिए। महिला उद्यमीहरू भारतमा अध्ययन गरी आफ्नै देशमा आएर उद्यम शुरू गरेकोमा उनले सराहना गरे। उनले महिलाहरूले मात्र गृहिणीको काम गर्नुपर्ने सोचलाई परिवर्तन गरी सानो ठूलो सबै प्रकारका उद्यम र व्यवसायमा महिलाहरूलाई प्रोत्साहन गर्नुपर्ने उनले जोड दिए।
भारतको उत्तराखण्डको मसुरीबाट मावि तहको अध्ययन गरेर दिल्लीको करोलबाग, पुसास्थित इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (आइएचएम)बाट इकोनोमिक्समा अनर्स गरेर वीरगंज फर्केकी २५ वर्षीया उज्ज्वला घरबाटै बेकरीसम्बन्धी उत्पादन बनाएर डिलेभरी गर्दै आएकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राम र ट्वीटरमा द केकरी हैन्डलबाट व्यवसाय प्रारम्भ गरेकी उज्ज्वला रु १० लाखको लागतमा वीरगंजमैं पहिलो केकरी शुभारम्भ गरेकी हुन्। बेकरी र केकरी दुई फरक विषय हुन्। बेकरी बेकबाट बन्छ भने केकरीमा फिनिसिङ दिइन्छ।
अहिले उनको पसलबाट किज, ब्राउनिज, कपकेक, केक, ब्रेन्स, पिज्जा, किसलगायतका सामग्री बिक्री वितरण शुरू भएको छ।