आजको मानिस प्रशस्त सुख–सुविधा सम्पन्न छ। देशको नायकत्व लिएका राजनीतिकर्मीहरू कोही पनि, अपवादबाहेक, विपन्न–दीनहीन छैन। तर मानसिक दरिद्रता यसै वर्गमा सबैभन्दा धेरै छ। तीन वर्ष अघिको कुरा हो, बद्रीधाममा एकजना मानिसले अनौठो खाले डोको बोकेको देखेर म जिज्ञासा शान्त पार्न ऊछेउ पुगेको थिएँ। उनी सुदूर पश्चिमको कुनै जिल्लाको निवासी थिए र यस विशेष डोकोमा अशक्त तीर्थालु बोकेर उकालो–ओरालो हिंडेर भगवत्दर्शन गराउँथे। मानिसले मानिसलाई पिठ्यूँमा बोकेर पहाडको उकालोओरालो सैर गराउने कुराले मन अमिलो भएर धेरै कुरा सोध्ने आँट आएन। सुदूर पश्चिमका धेरै दीनहीन नेपाली यस काममा लागेका छन्। उनीहरू पुस्तौंदेखि यो काम गर्दै आएका छन्। आजको मानिस यति संवेदनशील भएको छ कि घरपालुवा त के, जङ्गली जनावरको पनि अस्तित्व नाश हुन लागेकोमा चिन्तित छ, उनीहरूलाई बचाउने जोहोमा थुप्रैथुप्रै धन खर्च गरिरहेको छ। जाबो गलीको भुस्याहा कुकुरलाई कुटपिट गर्दा पशु सरोकार समूह कसैमाथि पनि जाइलाग्न तत्पर रहन्छ। तर भोका–नाङ्गा नेपालीहरू पिठ्यूँमा मानिस बोकेर विकट पहाडी बाटोमा हिंड्न बाध्य छन्।
त्यति मात्र भइदिएको भए, कर्मको फल मानेर सन्तोष गर्नुहुन्थ्यो। त्यस्तो अमानवीय काम गर्न विवश हुनेहरू कुन बेला कहाँ बेपत्ता हुन्छन्, कसैलाई पत्तो नै हुँदैन। भर्खरै समाचार आएको छ, यसरी भारतमा गएर पशुवत् काम गर्नेहरूमध्ये १६५ जना बेपत्ता छन्। उनीहरू राज्यको ऋण लिएर बेपत्ता भएका पक्कै होइन। कसैलाई मारेर भागेका पनि होइनन्। राज्यले कोही भोकले नमरोस् भन्ने मौलिक हकको बेवास्ता गरेकोले, दुष्कर श्रम गर्न बाध्य पारिएका हुन्। तिनका नाममा लामो क्रान्ति गरेर सत्तामा पुग्नेहरू विदेशी बैंकमा अटेसमटेस धन थुपारेर राजसुख भोगिरहेका छन्। भारतमा ती मात्र जान्छन् जो निरक्षर छन्, सर्वथा विपन्न छन्। जोसँग थोरबहुत साक्ष्Fरता छ, ऋण लिन सक्ने सामथ्र्य छ, ती तेस्रो मुलुक पुग्छन्। उनीहरूको काम ठ्याक्कै पशुवत् नभए पनि, श्रमसाध्य र जोखिमपूर्ण छ। त्यसैले वैदेशिक रोजगारमा गएकामध्ये प्रतिदिन एकजनाको मृत शरीर यहाँ आइपुग्छ। तर आफूलाई जनताको हक हितका लागि लड्ने भन्नेहरूलाई देशको यति मात्र पनि तथ्याङ्क थाहा छ भनी दाबी गर्न सकिन्न।
देश गणतन्त्रात्मक व्यवस्थामा गएको पाँच वर्ष पूरा भएको छ। देशले सर्वोत्कृष्ट संविधान पाएको छ वर्ष भइसकेको छ। तर नेपाली जनताको जीवनयापन वर्षौंदेखि यसैगरी कष्टकर रहिआएको छ। देशवासीको जीवनस्तर एकैखाले छैन। केही दरिद्रीको यस्तो चरम अवस्थामा छन् भने केहीसँग असरल्ल सम्पत्ति छ। त्यो सम्पत्ति उनीहरूले उत्तराधिकारमा पाएका होइनन्। उनीहरूले कमाएको सम्पत्ति हो। अर्थात् देशमा कमाइ हुने परिस्थिति छ। तर चरम, विभेदपूर्ण आर्थिक असमानता छ। यसो हुनुमा भ्रष्टाचार नै प्रमुख हो। भ्रष्टाचारले गर्दा नै राज्यको धन एक ठाउँमा थुप्रिंदै गएको छ। त्यसको न्यायिक वितरण हुन सकेको छैन। राज्यले कोषको समानतापूर्वक वितरण नगर्दा नै आर्थिक असमानता फैलन्छ। कसैलाई खाँदाखाँदा अजीर्ण हुन्छ, कसैको पेट पिठ्यूँमा टाँसिन्छ। अमानवीयताको यस्तो खेलले देशलाई, देशको सत्तालाई, देशको संविधानलाई गिज्याइरहेको छ, तर सरोकार पक्ष्F भने गरीबको दुःखमाथि पानीमा तेलझैं रमण गरिरहेको छस ऐøया–आत्थु केहीले छुँदैन।