– सुदर्शनराज पाण्डे
२०६३ को जनान्दोलनपछि बनेको नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल यतिखेर नेपाली जनताका लागि अनुत्पादक–प्रत्युत्पादक साबित भएको छ। बहुदलीय संसदीय व्यवस्था फेरि पनि नेपाल र नेपालीका लागि अफापसिद्ध हुन गएको छ। देशमा चलिरहेको वर्तमान शासन पद्धतिबाट नेपाली जनता वाक्क दिक्क भएको छ। यथास्थितिको शासन संरचनाले देशलाई बर्बादीको दिशातिर धकेलिरहेको यत्र–तत्र–सर्वत्र सबैले महसूस गरिरहेका छन्। राजनीति अवगुण र कुसंस्कारले भरिपूर्ण भएको दलाल पूँजीवादी व्यवस्थाको चरित्र रहेको दिन परदिन भ्रष्ट राज्य बनाउँदै गएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा नयाँ राजनीति व्यवस्था स्थापना गर्नुपर्ने बाध्यता आएको छ। नयाँ राजनीतिक व्यवस्था जनताको स्वतन्त्रता र अधिकार तथा राष्ट्रको सुरक्षाका लागि अनिवार्य आवश्यकता भइसकेको छ। यसका लागि देशको भविष्यबारे चिन्तित, देशको बेथितिबाट असन्तुष्ट रहेका सबै व्यक्ति र शक्तिहरूले तत्काल ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने अठोटका साथ वर्तमान शासन सत्ताविरुद्ध एकीकृत जनक्रान्तिमा जुट्न विलम्ब गर्नुहुँदैन। दलाल, पूँजीवादी संसदीय व्यवस्थामा हावी रहेका खराब पात्र र प्रवृत्तिलाई निर्मूल गर्न देशभक्त नेपालीहरूले कुनै कसर बाँकी राख्न हुँदैन। राष्ट्र निर्माण गर्ने र राजनीतिको निर्णय गर्ने शक्ति भनेको सार्वभौम नेपाली जनताको एकता हो। वर्तमान राजनीतिक व्यवस्थामा देखिएको विकृति, विसङ्गतिलाई नबुझे–नजानेझैं गरी बस्नु भनेको देशको अवस्था र व्यवस्थाप्रति उदासीन रहनु हो। आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी नबुझ्नु हो। दलाल पूँजीवादी व्यवस्थाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई निल्ने परिस्थिति सिर्जना भएको छ। नेपालमाथि बढ्दो विदेशी हस्तक्षेप, बढ्दो विदेशी ऋण, उर्लंदो नीतिगत, संस्थागत, व्यक्तिगत, आर्थिक भ्रष्टाचार, राष्ट्रिय बजेटको दुरूपयोग र अनियमितता, विकास, निर्माणको काममा अति ढिलासुस्ती, बढ्दो महँगी र बेरोजगारी, बहुसङ्ख्यक जनताको आर्थिक स्थिति जर्जर बन्दै जानु, दैनिक जीवनका लागि ऋणमा डुब्नु, अड्डा–अदालत, सरकारी कार्यालयमा घूसखोरी बढ्नु, तस्करी बढ्नु, आर्थिकलगायत नानाथरीका अपराध दिन दुनी रात चौगुनीका दरले बढ्नु सबै राजनीति व्यवस्थाका असफलता हुन्। देश र जनतालाई यो दुर्दशापूर्ण विवशतामा पु–याउनमा प्रमुख दोषी संसदीय व्यवस्था र यस व्यवस्थामा रमाइरहेका मुठ्ठीभर व्यक्तिहरू हुन्। शोषित, उत्पीडित, तराई–मधेस, पहाड र हिमालका सबै नेपाली जनता वर्तमान व्यवस्था परिवर्तन गर्न जुट्दै गइरहेका छन्। व्यवस्थाविरुद्ध राजनीतिका खराब पात्र र प्रवृत्तिविरुद्ध सामाजिक सञ्जालहरूमा जेजस्तो आक्रोशपूर्ण अभिव्यक्तिहरू आइरहेका छन्, यसले दलाल पूँजीवादी व्यवस्था कमजोर, असफल हुँदै ढल्ने अवस्थामा पुगेको निक्र्योल गरेको छ।
कुशासन र कुव्यवस्थाको दास भएर बाँच्ने कि नयाँ राजनीतिक व्यवस्थाका लागि डटेर सडक सङ्घर्षमा उत्रने भन्ने कुरा प्रत्येक नेपालीको मनमा हुनुप–यो। अमेरिकी साम्राज्यवाद–उपनिवेशवादको साङ्लो एमसिसी सम्झौता स्विकारेर देशलाई द्वन्द्वभूमिमा परिणत गरेर मर्ने कि देशलाई बचाउन एमसिसीविरुद्ध सडक सङ्घर्षमा वीरतापूर्वक उत्रने भन्ने कुराको निर्णय प्रत्येक देशभक्त नेपालीले गर्नुपर्दछ। म मरे पनि मेरो देश बाँचिरहोस् भनेर कामना गर्ने बेला हो अहिले। भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मिलेर यतिखेर नेपाल र नेपालीलाई दुःखमाथि दुःख र सास्ती दिन खोज्दैछन्। भ्रष्ट शासक, प्रशासकहरू मौन स्वीकृतिमा छन्। स्वाभिमानी भएर स्वतन्त्रतापूर्वक नेपालमा बाँच्नका लागि कुशासनमा नाचिरहेका राष्ट्रघाती, पापी, अपराधी, शासक, प्रशासक, भ्रष्ट नेताहरूविरुद्ध जन–हस्तक्षेप र जन–निषेध समयको माग हो। संसद्वादीहरूको मूलमन्त्र गुट, फुट र लुट हो। उनीहरू महाकालको मुखमा परिसकेका छन्। क्रान्तिकारी देशभक्त नेपालीहरूले गतिलो ढङ्गले राजनीतिक प्रहार गरे भने उनीहरूले निश्चितरूपमा हार स्विकार्ने छन्। भय, भ्रम र दमनको शासन विस्फोट भई भस्म हुन्छ नै। समय नआई केही कुरा समाप्त वा परिवर्तन हुँदैन तर परिवर्तनका लागि समय अनुकूल बन्दै गएको छ। विनाशकाले विपरीत बुद्धिले संसदवादी, बहुदलवादी दलाल पूँजीवादका हिमायतीहरूलाई घेरिसकेको छ। बढ्दो जन–असन्तुष्टि र जन–आक्रोश वर्तमान व्यवस्था परिवर्तनको माध्यम र आक्रोश हो। जनमतलाई कसैले थिच्न सक्दैन। सत्ताले सय दिनसम्म दिएको दुःख पीडित जनताले एक क्षणमा स्वाहा पारिदिन्छ।