प्रस, गरुडा, २७ मङ्सिर/

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले सामूहिक जनता आवास तथा चिस्यान केन्द्रको सोमवार शिलान्यास गरेका छन् ।

नगरप्रमुख कुशवाहाले सामूहिक आवासको शिलान्यास गर्दै तीन महीनामा गरीबको लागि घर तयार हुने दाबी गरे । गरीब तथा दलितलाई पक्की आवास दिनुपर्ने सरकारको कार्यक्रमलाई नगरपालिकाले सहयोग गरेर त्यसमा रकम थप गरेर आवश्यकता अनुसार घर बनाइदिन लागेको उनले प्रस्ट्याए । केही दिनमा नयाँ घरमा गरीबहरू सर्ने विश्वास आफूले लिएको र सोही अनुरूप काम गर्ने निर्देशन दिएको उनले बताए ।

एक करोड दश लाख लागतमा निर्माण हुन लागेको जनता आवास कार्यक्रमको सामूहिक आवासको नक्सामा सामान्य संशोधन गर्दै केही ठूला आकारका कोठाहरू निर्माण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताए ।

कटहरिया नगरपालिका–२ छेदीचोकमा निर्माण हुन लागेको सामूहिक आवास कार्यक्रमको निर्माण कार्य विनाअवरोध र निरन्तर भएर तीन महीनामा सम्पन्न हुने नगरपालिकाका प्राविधिक तथा निर्माण व्यावसायीको संयुक्त प्रतिबद्धता छ ।

यसैगरी छेदीचोकमैं नगरप्रमुख कुशवाहाले २२ करोडको लागतमा निर्माण हुने बजारसहितको चिस्यान केन्द्रको पनि सोमवार शिलान्यास गरेका छन् । कृषि आधुनिकीकरण तथा बजारीकरण र व्यवसायीकरणमा बजार तथा चिस्यान केन्द्रले भूमिका खेल्ने नगरप्रमुख कुशवाहाले विश्वास व्यक्त गरे । आज उद्घाटन भएको चिस्यान केन्द्र दुई वर्षभित्र निर्माण भइसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here