राधेश्याम पटेल, वीरगंज, २७ मङ्सिर/

चिनियाँ लगानीमा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा सञ्चालित अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिज प्रालिले प्रतिबन्धित छाला निकासी गर्न खोजेको भेटिएपछि भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ । करीब सवा महीनादेखि निकासीको लागि जाँचपास भइसकेको छाला होल्ड गरी अनुसन्धान भइरहेको श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जनाए ।

“उजूरी आएपछि कन्टेनर होल्ड गरी अहिले सामान गोदाममा राखेका छौं”–उनले भने–“ल्याबमा पुनः परीक्षण गर्ने कि जफत गर्नेबारे विभागसँग परामर्श भइरहेको छ ।” उद्योगले प्रतिबन्धित छाला निकासी गरेको घटना प्रकाशमा आएको हो । भन्सार कर्मचारीलगायत सरोकारवाला निकायलाई झुक्याउँदै उद्योगले इन्डोनेशियामा अर्धकच्चु ‘वेट ब्लु’ छाला निकासी गर्दै आएको थियो ।

तर नेपाल टेनिङ एसोसिएशनका केही छाला उद्योगीहरू भन्सार गएर उजूरी गरेपछि भन्सारले अन्नपूर्णको छाला होल्ड गरी छानबीन शुरू गरेको थियो । उद्योगीहरूका अनुसार अर्थ कच्चु (वेट ब्लु) छाला निकासी गरेकोले विरोध जनाइएको हो । उद्योगले एचएस कोड र उत्पादन फरक पारेर अर्धप्रशोधित वेट ब्लुक छाला निकासी गरेको पाइएको हो । यस्तो सामग्री प्रतिबन्धित छ।

इन्डोनेशियाको जकार्तास्थित पार्टीलाई करीब १० हजार अमेरिकी डलर बराबरको प्रतिबन्धित छाला निकासी गर्न लाग्दा अन्तिम समयमा छाला रोकिएको थियो । उद्योगले अनुसन्धान प्रक्रिया चाँडै सम्पन्न गरी निकास दिनुपर्ने माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here