प्रस, वीरगंज, २७ मङ्सिर/
वीरगंज नाकाको दुईवटा भन्सार कार्यालयमा माघ १ गतेदेखि अनलाइन प्रणाली सेवा शुरू हुने भएको छ । वीरगंज भन्सार कार्यालयको पुरानो भन्सार र एकीकृत सुरक्षा जाँचचौकी (आइसिपी) मा पुस १ गतेदेखि यो सेवा शुरू गर्ने वीरगंज भन्सारको तयारी छ । त्यसपछि माघ १ गते सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यो सेवा शुरू हुने वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वीरगंज भन्सार र सुख्खा बन्दरगाह भन्सारको सम्पूर्ण काम नगद तथा चेकरहित बनाउन यस्तो प्रविधि लागू हुन गइरहेको उनले बताए ।
भन्सार विभागको योजना अनुसार वीरगंज भन्सार र बन्दरगाह भन्सारमा अनलाइन सेवाको लागि सबै पूर्वाधार तथा तयारी पूरा गरिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । उनले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्रयोग गर्ने मुलुकमा पर्ने गरेको स्पष्ट पारे ।
अब हरेक क्षेत्रमा कागजको प्रयोग कम गर्ने र नयाँ प्रविधिहरूको प्रयोग बढाउँदै जानेमा भन्सार विभागको जोड छ । यो प्रणाली लागू भएपछि व्यवसायीको समय र खर्च पनि कम हुने उनको विश्लेषण छ ।
प्रमुख भन्सार अधिकृत पौडेलले आइसिपी मार्ग भएर व्यवसायीले विदेशबाट आयात गरेको सामानको चेक जाँच एकद्वार प्रणालीमा लागू भएकोले अब आयातित समान भन्सार बिन्दुमा छोटो प्रक्रिया पूरा गरी बजारसम्म पुग्ने र लागत कम हुने बताए ।
बन्दरगाहमा १० वर्षदेखि स्क्यानर थन्कियो
पौडेलले सुख्खा बन्दरगाहमा पूर्वाधारको कमी तथा दक्ष प्राविधिक जनशक्तिको अभावका कारण काम गर्न समस्या भइरहेको बताएका छन् । उनले ट्रक/कन्टेनर स्क्यानका लागि ल्याइएको मेशीन प्राविधिक नहुँदा १० वर्षदेखि त्यतिकै थन्किएर बसेको बताए ।
चीन सरकारले अनुदानमा दिएको स्क्यान मेशीन भन्सार कर्मचारीले चलाउन नजान्दा प्रयोगविहीन अवस्थामा छ । भारतबाट आएका कन्टेनर स्क्यान गर्ने समस्या रहेको भन्दै मेशीन चलाउने प्राविधिकको अभावको कारण भौतिक रूपमैं कन्टेनरहरूको सामान अनुमानित गर्नुपर्ने, भन्सारमा कन्टेनरहरू थुपार्नुपर्ने, जामको समस्या भोग्नुपर्ने जस्ता समस्या रहेको उनले बताए ।