राधेश्याम पटेल, परवानीपुर, २७ मङ्सिर/

निम्बसको अगुवाइमा निर्माण भइरहेको वेयरहाउस (खाद्यान्न भण्डारण कक्ष) परियोजना सञ्चालनमा आउन लागेको छ । पूर्वी नेपालको सुनसरीको बूढी गाउँपालिका–३ औरावनीमा रु १ करोड ४० लाखको लागतमा निर्माण भइरहेको पहिलो परियोजना सञ्चालनमा आउन लागेको छ।

दुहबी–इनर्वा सडकखण्डमा पर्ने औरावनीमा चार बिघा क्षेत्रफलमा वेयरहाउस निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएर फिनिसिड्ढो काम भइरहेको बताइएको छ ।

निम्बसकै प्रोबायोटेक प्रालि, शिखर इन्स्योरेन्स, एनएमबी बैंक, रूपन्देहीको श्रीनगर एग्रोफर्म, काठमाडौंको टीम भेन्चर, टिएनए इन्भेस्टमेन्ट कम्पनी गरी सातवटा साझेदार कम्पनीको संयुक्त कम्पनी नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले नेपालको तराई क्षेत्रमा व्यवसायी तथा किसानका खाद्यान्न सामग्रीलाई उचित व्यवस्थापन गर्न सुनसरी, पर्सा र कपिलवस्तु गरी तीन जिल्लामा वेयरहाउस परियोजना अघि बढाएको छ ।

जसमध्ये सुनसरीको पहिलो परियोजना, पर्साको दोस्रो र कपिलवस्तुको तेस्रो परियोजना हो । सुनसरीमा निर्माण गरिएको वेयरहाउसमा १५ हजार टन गहँु र मकै भण्डारण गर्न ५/५ हजार टनका तीनवटा साइलो (भकारी) निर्माण गरिएको र अबको दुई महीनामा सञ्चालनमा ल्याइने नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका कार्यकारी निर्देशक जयमुकुन्द खनालले बताए । नेपाल सरकारका पूर्व कृषि सचिवसमेत रहेका खनालका अनुसार पर्साको वेयरहाउस पनि आगामी वर्ष २०२२ अप्रिलतिर र कपिलवस्तुको वेयरहाउस आगामी वर्षको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

पर्सागढी नगरपालिका–१ बडनिहारनजीकै निर्माण भइरहेको परियोजनाको काम ६० प्रतिशत र कपिलवस्तुको परियोजनाको काम करीब २० प्रतिशत पूरा भएको उनले बताए । कोरोनाका कारण दुई वर्षदेखि परियोजनाको काम पछि परेको चर्चा गर्दै पर्साको परियोजनाको लागत अढाई करोड र कपिलवस्तुको परियोजनाको १ करोड ४० लाख गरी तीनवटै परियोजना पूरा गर्न करीब रु ५ करोडभन्दा बढी हुने उनले बताए ।

पर्साको भण्डारण कक्षको क्षमता २५ हजार टन र कपिलवस्तुको भण्डारण कक्षको क्षमता १५ हजार टन छ । जीतपुर–बडनिहार सडकखण्डमा पर्साको वेयरहाउस पर्छ भने कपिलवस्तुमा चन्द्रौटा–कृष्णनगर सडकखण्डमा पर्ने शिवराज नगरपालिकाको वीरपुरमा भण्डारण कक्ष निर्माण गरिंदै छ । पर्साको भण्डारण कक्षमा चारवटा साइलो र कपिलवस्तुमा तीनवटा साइलो छ । साइलोमा किसानले राख्ने खाद्यान्नमा बैंकको लगानी सुविधा उपलब्ध हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here