रियाद, २७ मङ्सिर/सिन्ह्वा
यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिवारदेखि निरन्तर कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा २०० हुथी विद्रोही मारिएका बताइएको छ । शनिवारदेखि यहाँको मारिब प्रान्तमा साउदी सेनाले निरन्तर कारबाही जारी राखेको बताइएको छ ।
सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा १९० जना हुथी विद्रोहीको ज्यान गएको साउदी अरेबियाको सरकारी प्रेसले शनिवार जनाएको थियो । तर आइतवार यसमा वृद्धि भएको छ । सो कारबाहीमा परेर कम्तीमा २०० जनाको ज्यान गएको र अरू कैयौं घाइते भएका यमनको सरकारी सेनाले आइतवार साँझ पुष्टि गरेको जानकारी दिएको छ ।
यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीविरुद्ध कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि छ । मारिब क्षेत्रमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरिएको थियो । साउदी सेना नेतृत्वको हवाई सेनाले शनिवारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन् । शनिवारदेखि कम्तीमा पनि ३६ वटा साना ठूला आक्रमण गरेको पाइएको छ ।
शनिवारको सो आक्रमणमा हुथी विद्रोहीका कम्तीमा २१ वटा आश्रयस्थल र केही सवारीसाधन ध्वस्त पारिएको बताइएको छ । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । रासस