उद्योगले फालेको छाइ (भुसा डढाएपछिको अवशेष) मा खेल्दा एकजना बालकको जीउ पोलिएको छ । उद्योगहरूले भट्टी बाल्न सस्तो इन्धनको रूपमा भुस प्रयोग गर्छन् । त्यो भुस डढेपछि छाइ निस्कन्छ । छाइ रासायनिक पदार्थजस्तै उद्योगको विसर्जन हो । यसलाई तह लगाउने जिम्मेदारी सम्बन्धित उद्योगकै हुन्छ । तर हाम्रा उद्योगहरू नाफाजति आफूलाई र काम नलाग्ने अवशिष्ट, विसर्जित पदार्थ, दुर्गन्धित रसायन आदि समाजलाई दिने गर्दछन् । उद्योगले त नाफा खोज्यो, अवशिष्ट व्यवस्थापनमा हुने खर्च जोगाउन उसले समाजलाई पिरोल्यो, तर प्रशासन के हेरेर बस्छ ? नियमविपरीत, जनताको सुरक्षा र स्वास्थ्यसँग खेलवाड गर्ने यस्ता उद्योगहरू कहिले प्रशासनको आँखामा किन दोषी देखिंदैनन् ? उद्योगबाट निष्कासित हानिकारक रासायनिक झोल नदी वा नालामा बगाइन्छ, छाइजस्तो ठोस पदार्थ सडकको छेउमा फालिन्छ । छाइ तातो छ भने अबोध बालबालिकालाई पोल्छ, सेलाएको छ भने हावाले उडाएर यात्रुहरूको आँखामा पार्छ । बितेका कैयौं वर्षदेखि यो समस्या देखिंदै आएको छ । कैयौं मानिसको आँखा बिग्रेको छ तर न प्रशासनलाई चासो हुन्छ, न यस्तो मानवताविरोधी कार्यप्रति कुनै उद्योगले आजसम्म क्षतिपूर्ति तिरेको छ, न समाजसँग क्ष्Fमायाचना गरेर मनमानी रोक्न तम्सिएको छ।
पञ्चायतकालमा देशमा उद्योगहरू आवश्यक छ भन्ने महसूस भएर राज्यले धेरै उद्योगहरू आफैं खोल्यो, चलायोस सहुलियत दिएर उद्योग खोल्न लगायो । उद्योगको आवश्यकताले समाजमा पर्न गएको अपठ्यारो गौण भयो । उद्योगले जे गरे पनि हुने भयो । त्यसै बेलादेखि उद्योग वरिपरि रहेका नदीहरू फोहर नालामा परिणत भए । एउटा समय यस्तो पनि आयो, यस कार्यको ठूलो विरोध भयो । अब उद्योगहरूले आफ्नो फोहरको व्यवस्थापन आफैंले गर्नुपर्ने भयो । रिफाइनरी उपकरणहरू पनि स्थापना भए तर खर्च त त्यसमा पनि लाग्छ । उद्योगहरूले चलाउँदै चलाएनन् । नदीमा प्रदूषण भइ नै रह्यो, सडकहरूमा फोहरहरू थुप्रिंदै रहे । यी प्रत्यक्ष फोहरको व्यवस्थापनमा न जनता नै तात्यो, न राज्यले नै कुनै चासो लियो । उद्योगहरूबाट निस्कने धूवाँले प्रत्यक्ष हानि नपु¥याउने हुँदा त्यसको न झन् वास्तै गरिएन, यसले हाम्रो स्वस्थ वातावरण जतिसुकै प्रदूषित किन नपारोस्स सिमेन्ट उद्योगहरूले हावामा धूलो उडाइरहे, हाड कारखानाहरूले गाउँ बस्तीलाई दुर्गन्धित पारिरहे, लाइभस्टकहरूले बान्ता आउने हदसम्म वातावरणलाई विषाक्त बनाइरहे तर प्रतिकारका लागि कोही अगाडि सरेन । यसरी गलत कामविरुद्ध कसैले चासो नदिंदा आज खुला आकाश, सघन वनक्ष्Fेत्रको छेउ बसेर पनि हामी वातावरणीय प्रदूषणबाट आक्रान्त छौं ।
माछा मार्नेहरूले पानी धमिलो पार्छन् । यहाँ त सर्वत्र धमिलो छ । धमिलो पार्ने उद्यम नै गर्नुपर्दैन । अनि मानवताविरोधीहरू धनी–साहुकार बनिरहेका छन् । भ्रष्टाचारको आहालमा दिनरात बस्नेहरू सत्तासीन बनेका छन् । सत्ताको छत्रछायामा बसेर भ्रष्टाचारको उच्छिष्टमा बाँच्न पल्केकाहरू गलत काम गर्नेहरूको मतियार बनेका छन् । जो गर्न समर्थ छ, ऊ नै गलतसँग मिलेमतो गर्न अधीर भएको ठाउँमा कसैको दुई पैसा बचाउने लोभमा कुनै बालक भुसको आगोमा पोलिन्छ, कसैको आँखा बिग्रन्छ, हिन्दूबहुल मुलुकका बासिन्दा फोहर नदीमा कर्मकाण्ड गर्न विवश बन्छ नै । तर मानवता कहीं जीवित छ, मानिसको आत्मा मरिसकेको छैन भने यस्ता वितण्डा अब दोहोरिनुहुन्न ।