गम्भीरा सहनी, जीतपुर, २५ मङ्सिर/
वीरगंज–पथलैया छ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य आगामी फागुन मसान्तसम्म पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सडक निर्माण परियोजना कार्यालयका सूचना अधिकृत इन्जिनीयर सञ्जीवकुमार गुप्ताले बताए । सडक निर्माण कार्य यसअघि नै सम्पन्न भइसक्नुपर्नेमा प्राविधिक, प्राकृतिक, राजनीतिक कारणले गर्दा काम अवरुद्ध भई विलम्ब हुन गएको उनको भनाइ छ ।
प्राप्त विवरण अनुसार परवानीपुरदेखि गण्डक नहरसम्म ३.९२ किलोमिटर सडक निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको छ । त्यसैगरी, गण्डक नहरदेखि हरपतगंज चोकसम्म ८३ प्रतिशत, हरपतगंज चोकदेखि सुक्खा बन्दरगाहसम्म ६३ प्रतिशत, पथलैया चोकदेखि सूर्य नेपालसम्म ९४.३४ प्रतिशत र सूर्य नेपालदेखि आर्मी क्याम्प जीतपुरसम्म ५८ प्रतिशत काम सम्पन्न भएको छ ।
त्यसैगरी, आर्मी क्याम्पदेखि परवानीपुरसम्म ८८ प्रतिशत र परवानीपुर देखि गण्डक चोकसम्म ८९ प्रतिशत सडक निर्माण भएको परियोजना कार्यालयको विवरणमा उल्लेख छ । निर्माण व्यवसायीको माग बमोजिम सो सडक निर्माण पूरा गर्न आगामी चैत मसान्तसम्म म्याद थप गरिएको छ । हालकै अवस्थामा निर्माण कार्यको प्रगति जारी रहेमा फागुन मसान्तभित्रै निर्माण पूरा हुने कार्यायलका सूचना अधिकारी इन्जिनीयर गुप्ताले प्रतीकसँगको कुराकानीमा बताए ।
वीरगंज–पथलैया छ लेन सडक निर्माणको अनुमानित लागत रु ५ अर्ब ५९ करोड २१ लाख ५९ हजार रुपैयाँ रहेकोमा कार्यप्रगतिको आधारमा हालसम्म रु ४ अर्ब १३ करोड १९ लाख ७९ हजार भुक्तानी भइसकेको र करीब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सो कार्यालयका लेखापाल नरहरिप्रसाद खनालले बताए ।