प्रस, ठोरी, २५ मङ्सिर/

ठोरी–२ इच्छानगरमा आगलागी पीडित दुई परिवारलाई स्थानीय युवाहरूको अगुवाइमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । युवाको अगुवाइमा छ कोठाको दुईवटा घर निर्माण गरी शनिवार हस्तान्तरण गरिएको हो ।

बितेको चैत २८ गते आगलागीबाट स्थानीय कृष्णबहादुर नगरकोटी र पलवान प्रजाको घर जलेर नष्ट भएको थियो । पीडितका लागि नयाँ निर्माण गर्न स्थानीय धीर सिंह घिमिरेको संयोजनमा निर्माण समिति गठन भएको थियो । उक्त समितिले निर्माण गरेका दुईवटा घर पीडित दुई परिवारलाई हस्तान्तरण गरिएको हो । घर निर्माण गर्न विभिन्न व्यक्ति, समूह तथा सङ्घसंस्थाले समितिलाई सहयोग गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मी, वडा नं २ का अध्यक्ष किशोर तामाङलगायतले युवाहरूको कामको प्रशंसा गरेका थिए । सो अवसरमा घर प्राप्त गरेका नगरकोटी र प्रजाले खुशीसहित धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा मोबाइल एशोसिएशन अफ नेपालका केन्द्रीय सदस्य छतेन्द्र आचार्य, ठोरी समन्वय समाजका प्रवक्ता सुदीप थापा, नागरिक समाज ठोरीका संयोजक सन्तोष श्रेष्ठ, नेकपा एमाले ठोरी–२ का अध्यक्ष नरबहादुर क्षेत्री, नेपाली काङ्ग्रेशका वडा सभापति देवीप्रसाद पराजुली र नेकपा माओवादीका वडा कमिटी अध्यक्ष भैरवबहादुर बस्नेतले मन्तव्य व्यक्त गरेका थिए ।
निर्माण समितिका संयोजक घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here