• राजेश मिश्र

‘सोरहो शृङ्गार, ई घेघवे बिगाड’ परापूर्वकालदेखि यो भोजपुरी लोकोक्ति प्रचलनमा छ । यस लोकोक्तिको सिर्जना हुनुको कारण के हो ? आउनुस्, यस आलेखको मूल प्रसङ्गअघि उपरोक्त लोकोक्तिको उत्पत्तिको कारण प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।

परापूर्वकालको घटना हो । एक महिलाले नयाँ परिधान, पाउडर, लिपस्टिक, नेल पोलिस, महावर, चुरा, बिन्दी, पायल, नथिया, कानबालीलगायत सो¥ह शृङ्गार गरेर सजिएकी थिइन् । घरीघरी आफूलाई ऐनामा हेर्थिइन् । उनी आफू कस्तो देखिंदै छु भन्दै अन्य महिलाहरूसँग जिज्ञासा प्रकट गर्थिइन् । महिलाहरूले लाख सुन्दरताको बावजूद ती महिलालाई उनको असुन्दरताको कारण अवगत गराए ।

कारण यस्तो रहेछ– ‘ए कनिया बडी सुन्दर लौक तारू हो, मने हई घेघवा बेमारी के चलते तोहर सुन्दरता बिगड गइल बा ।’ अर्थात् ए दुलही बडो सुन्दर देखिइरहेकी छौ । तर गलगण्ड रोगले तिम्रो सुन्दरता बिगारिदिएको छ । ती महिलालाई गलगण्ड रोग छ र यसको उपचार गर्नुुपर्छ भन्ने कुरा थाहा नभएको होइन । यद्यपि ती महिलाले रोगको उपचारभन्दा पनि कुरूपतालाई ढाक्ने अस्त्रको रूपमा शृङ्गारको सहारा लिन्थिन् । तर रोग शरीरको प्रमुख स्थान अर्थात् घाँटीमा भएकोले सहजै दृश्यमान हुन्थ्यो । त्यस कारण सो¥ह शृङ्गारले कुरूपतालाई ढाक्नु असम्भव थियो । यो कुरा एक कान, दुई कान हुँदै गाउँगाउँसम्म फैलियो ।

उहिलेका पुस्ता कुनै पनि प्रसङ्गलाई संक्षिप्त गर्दै लोकोक्तिमा रूपान्तरण गर्न माहिर थिए । कसैले उपरोक्त प्रसङ्गलाई ‘सोरहो शृङ्गार, ई घेघवे बिगाड’को रूपमा सिर्जना गरे । त्यसपछि मिल्दोजुल्दो घटनाक्रमहरूको सन्दर्भमा यो भोजपुरी लोकोक्ति उद्धृत गर्ने प्रचलन निरन्तर छ । वीरगंज शहरको पावरहाउस चोकदेखि मितेरी पुलसम्म सडकको दुरवस्था उपरोक्त भोजपुरी लोकोक्तिसँग सो¥ह आना मेल खान्छ ।

पथलैयादेखि मितेरी पुलसम्म व्यापारिक राजमार्गको निर्माण कार्यको समयसीमा दुई वर्षको थियो । पटक–पटक समयावधि थप हुँदै झन्डै छ वर्ष हुन लाग्दा अहिलेसम्म प्रगति अधूरो छ । पर्सा र बारालाई छुने एकमात्र राष्ट्रिय राजमार्गको काम निर्धारित समयमा सम्पन्न हुन्छ र फराकिलो पक्की सडक प्रयोग गर्न पाइन्छ भन्ने आम जनताको कल्पना स्वाभाविक थियो । तर ठेकेदारी प्रथामा समयसीमाभित्र काम सम्पन्न नगर्ने आचरण छताछुल्ल छ । अर्को दुःखद पक्ष भनेको ठेकेदारहरूप्रति सरकारी अन्धदृष्टि र राजनीतिक संरक्षण हो ।

सामान्य नागरिकले समयासीमाभित्र सरकारी दस्तुर/कर नतिर्दा जरिवानासहित असुल गरिन्छ। तर अपवादबाहेक ठेकेदारहरू ‘उल्टा चोर कोतवालको डाटे’झैं प्रवृत्तिमा ओतप्रोत छन् । समयमा काम पनि नगर्ने र उल्टै महँगी बढ्यो भन्दै सरकारसँग अतिरिक्त रकम दाबी गर्ने नियत विद्यमान छ । के उनीहरूमा मनोमानी यसै बढेको हो ? के राजनीतिक र सरकारी छहारीविना दुर्नियत सम्भव छ ?

पछिल्लो समय गत बुधवार जिल्ला प्रशासन कार्यालय, पर्सामा बैठक बसेको समाचार पढ्न पाइयो । छ लेनको व्यापारिक राजमार्ग फागुन मसान्तभित्र सम्पन्न हुने समाचारहरू आएका छन् । उक्त बैठकमा व्यापारिक मार्ग आयोजनाले मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म तत्काल टेन्डर गरी सडक प्याचिङ र ओभरल्यापको काम गर्ने तथा सडक विभागले तत्काल माईस्थान चोकदेखि पावरहाउस चोकसम्म सडकको स्टीमेट गरी निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको कुरा सराहनीय छ । तर यहाँ मूल प्रश्न के हो भने माईस्थान चोकदेखि रजतजयन्ती चोकसम्मको सडकको दुरवस्थाप्रति किन चासो छैन ? कारण के हो ? यावत् प्रश्नहरूको उत्तर नियामक पक्षबाट अपेक्षित छ ।

जसरी मानव शरीरको बीच भागमा अन्ननली हुन्छ, त्यसैगरी वीरगंजको ‘मेनरोड’ हो । दक्षिण मितेरी पुलदेखि उत्तर पावरहाउस चोक र पूर्व नयाँ बसपार्कदेखि पश्चिम रानीघाटसम्मको चौहद्दीलाई वीरगंज शहरको रूपमा लिन सकिन्छ । किनभने यस चौहद्दीभित्र नून देखि सुनसम्म पाइन्छ । मानवीय सरोकारका प्रमुख सबै सरकारी अड्डा र व्यवसायहरू यसै चौहद्दीभित्र स्थापित छन् । यसै कारण मानिसहरूको आवागमन मुख्य सडक हुँदै वीरगंजको विभिन्न गन्तव्यसम्म पुग्छ ।

वीरगंजको पावरहाउस चोकदेखि मितेरी पुलसम्म, सडकको जर्जर अवस्थालाई वर्णन गरेर साध्य छैन । बढ्दो जनघनत्वको कारण खासगरी घण्टाघरदेखि नारायणी अस्पतालसम्म सडकको क्षमता दिन प्रतिदिन साँघुरिंदै गइरहेको छ । यसको अलावा ठाउँठाउँमा खाल्डाखुल्डी, जाम र सडकमैं पार्किङ आदिको बाध्यताले वीरगंज शहरको सुन्दरता कहालीलाग्दो छ । यस्तो लाग्छ कि वीरगंज अभिभावकविहीन छ र आमसास्ती कसैको सरोकारको विषय नै होइन ।

उपरोक्त भोजपुरी लोकोक्तिको कथाझैं वीरगंज शहरको प्रमुख समस्याप्रति जिम्मेवार पक्ष अनुत्तरदायी देखिन्छ । एशियाली विकास बैंकको परियोजना अन्तर्गत भएका विकास कार्यलाई अघि सारेर ‘मेनरोड’को प्रमुख समस्यालाई ओत पार्ने काम भइरहेको छ । अर्थात् साँवा अरूको र ब्याज मेरो भन्ने मनोवृत्ति स्पष्ट छ । वीरगंजका शाखा तथा उपशाखालगायत समग्र सडकको अभिभावकको रूपमा उहिले स्थापित राष्ट्रिय राजमार्गले असीमित जनघनत्वलाई वर्षौंदेखि जसोतसो धानिरहेको छ ।

बेलाबेला मर्मतको नाममा शृङ्गारिने कार्य ‘बालुवामा पानी’झैं भएको छ । प्रत्येक वर्ष झन्डै तीन/चार पटक सडक मर्मतको नाममा हजारौं खर्च गरेर लाखौं स्वाहा पार्ने नियत अनुत्तरदायी मनोवृत्तिको कारक हुन सक्छ । यदि त्यस्तो होइन भने स्थायी समाधानतर्फ अग्रसरता किन छैन ? यसरी समाधान शून्य काम गरेर राज्यको ढुकुटी स्वाहा पार्ने अविवेकी प्रवृत्तिको अन्तिम दिन कहिले हो ? स्थायी समाधान कहिले हुन्छ ? यावत् अनुत्तरित प्रश्नहरूको जवाफ सङ्घीय सरकार, प्रदेश सरकार, वीरगंज महानगरपालिका र सडक विभाग सबैले दिनुपर्छ ।

सुविधाप्राप्तिका लागि जनताले ‘कडा सङ्घर्ष’ नै गर्नुपर्नेे बाध्यकारी परिस्थिति उत्पन्न गर्ने नियत खेदपूर्ण त छ नै सुखद पनि होइन । पर्सा जिल्लाको जीवनरेखा तिलावे पुलको व्यथा सबैलाई अवगत छ । आठ वर्षदेखि आम जनताको सरोकारसँग खेलबाड गरिरहेका सरकारी निकाय र ठेकेदारविरुद्ध युवाहरू सङ्गठित भए । सडक सङ्घर्षमा होमिए । महीनौंसम्म लगातार आवाज उठाइरहे ।

विभिन्न सरोकारवालासँग छलफल तथा संवाद गरे । तत्पश्चात् अवरोधक पक्षको सुषुप्त चेतनामा युवाहरूको सङ्घर्षको सञ्चार भयो । अहिले निर्माण कार्यले गति लिएको छ । यस्ता उदाहरणहरू धेरै छन् । के हरेक समस्या समाधानको लागि जनता सडकमैं आउनुपर्छ ? उच्च तहमा विरोधको सानो स्वरलाई नसुन्ने प्रवृत्ति किन छ ? माईस्थान चोकदेखि रजतजयन्ती चोकसम्मको सडक निर्माण कार्यको कुरा किन उठ्दैन ? आमचर्चालाई मान्ने हो भने लाभजन्य हावाहुरीले सरकारीदेखि राजनीतिक सबै तहका शक्तिलाई शक्तिहीन बनाइदिएको छ ।

घण्टाघरदेखि रजतजयन्ती चोकसम्मको क्षेत्रलाई ‘एटिएम मेशिन’को रूपमा प्रयोग गरेर आमसास्तीलाई थाती राख्नु जस्तो दुर्भाग्यपूर्ण अरू केही हुन सक्दैन । गरीबहरूको खेत, खलियान र झुपडी खाली गराउनु धेरै सजिलो छ । जनता मूर्ख छैन, सबै कुरा बुझिरहेको छ । सत्तारूढ पक्ष होस् वा विपक्ष, आम चित्कार कुनै पनि पक्षको कानमा नपुग्नु नै आम आशङ्काको प्रमुख कारण हो । आखिर पर्दाको पछाडि कुन शक्ति छ ? यही सेरोफोरोमा आधारित एक हिन्दी फिल्मको गीतले खलपात्रको चरित्रलाई यसरी चित्रण गरेको छ–

‘क्या मिलिए, ऐसे लोगों से ।
जिनकी फितरत, छुपी रहे ।
नकली चेहरा, सामने आए ।
असली सुरत, छिपी रहे ।

खलपात्र को हो ? उसको पहिचान गर्नुपर्छ । कठघरामा उभ्याउनुपर्छ । उहिलेको जनसङ्ख्यालाई मध्यनजर गरी सडक निर्माण भएको थियो । वर्तमान परिप्रेक्ष्यमा बढ्दो जनघनत्व र सवारीसाधनको चापको कारण व्यस्त वीरगंज शहरको कथा वर्णन गरेर साध्य छैन । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित र ख्यातिप्राप्त वीरगंज महानगरले केवल करको दर उच्च लिएर हुँदैन, सुविधा पनि सोही बमोजिम प्रदान गर्नुपर्दछ ।

सास्तीपूर्ण ‘मेनरोड’को अवस्थाप्रति नियामक निकायको चिन्ताशून्य मनोवृत्ति किन छ ? वीरगंजको मुख्य सडकमा आज श्वास फेर्न पनि गा¥हो छ । उत्तरदेखि दक्षिणतर्फ आम नागरिकले नचाहँदा नचाहँदै पनि कामवश नजानुको विकल्प छैन । सडक फराकिलो नहुनु, सडकको दुई लेनमध्ये एक लेन आवागमनका लागि तथा अर्को लेन पार्किड्ढो लागि प्रयोग हुनु नै आमसास्तीको मुख्य कारण हो ।

हिन्दी सुमधुर गीत ‘चाँद जैसे मुखडे पे बिन्दिया सितारा’ जस्तै चाँदरूपी वीरगंज शहरको बिन्दीरूपी मुख्य सडकको स्तरोन्नति नहुन्जेलसम्म वीरगंजको सुन्दरता कदापि अनुभूति गर्न सकिंदैन । त्यसैले वीरगंज महानगरपालिकालगायत मेनरोडको चित्कार सबै तहका सरकारले सुन्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here