सुग्रीव साह, भिस्वा, २४ मङ्सिर/

भिस्वा–सिकटामा हुने संस्थागत तस्करी तीन महीनापछि पुनः सुचारु भएको छ । सशस्त्र प्रहरी प्रमुखमा राजेश्वर साह तेली बहाल भएसँगै तस्करी शुरू भएको हो । यसअघिका प्रहरी प्रमुखले यहाँको संस्थागत तस्करीलाई नियन्त्रण गरेका थिए । तर उनी दरबन्दीमा रहेका र काजमा खटेका कारण उनीविरुद्ध स्थानीय व्यापारीले विभिन्न प्रपञ्च रचेर सरुवा गराएका थिए र अहिले तेली इन्चार्ज भएसँगै पूर्ववत्रूपमा तस्करीको लाइन सञ्चालन भएको हो ।

भिस्वा–सिकटा तस्करी सञ्चालन भएसँगै सोको विरुद्धमा अहिले हालै सिकटा पञ्चायतमा निर्वाचित राजन चौरसियाले तस्करीविरुद्ध अभियान शुरू गरेका छन् । उनले खुला सीमामा रहेका एसएसबीलगायतलाई लिखित निवेदन दिंदै तस्करीमा कडाइ गर्न निर्देशन दिएपछि आजदेखि तस्करी केही हदसम्म नियन्त्रण भएको छ ।

भारतीय एसएसबीका जवानले सिकटा बजार र खुला सीमामा आवतजावत गर्नेहरूलाई अनधिकृत कारोबार नगर्न चेतावनी दिएका छन् । उनीहरूले अनधिकृत व्यापारमा संलग्नहरूलाई कारबाई गर्ने चेतावनी दिएपछि आजबाट केही हदसम्म तस्करी नियन्त्रण भएको छ । विगत एक सातादेखि सशस्त्र प्रहरी बलको इन्चार्जमा तेली नियुक्त भएपछि उनले दोस्रो दिनबाटै तस्करी शुरू गराएका थिए ।

साइकल, मोटरसाइकल र भरियासँगै ट्याक्टरसमेतबाट तस्करी शुरू भएपछि सोविरुद्ध सिकटाका मुखिया चौरसियाले आजबाट तस्करी नियन्त्रण गर्न अभियान सञ्चालन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here