प्रस, सेढवा, २४ मङ्सिर/
विभिन्न माग राखी अनिश्चितकाल आमरण अनशनमा बसेका पटेर्वासुगौली युवा समाजका अध्यक्ष रामजनम चौधरी वार्ता बस्न मानेनन् ।
गापा कार्यालयअगाडि अनशनमा बसेका चौधरीलाई वार्ताका लागि अध्यक्ष हरिनारायण चौधरीले आग्रह गरेका थिए । आज अध्यक्ष चौधरी, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, योजना अधिकृत राजकुमार चौधरी, इन्जिनीयर प्रदीप चौरसिया, सूचना प्रविधि अधिकृत सोलेन्द्र पञ्जियारको टोली अनशनस्थलमा पुगी वार्तामा बस्न आग्रह गरेका थिए । तर अनशनमा बसेका चौधरीले गापा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू र कार्यपालिकाका सम्पूर्ण सदस्य आएपछि मात्रै वार्तामा बस्ने अडान राखेका थिए ।
यता, पटेर्वासुगौली युवा समाज संस्था वैधानिक नभएको बताइन्छ । सो संस्था जिल्ला प्रशासन कार्यालय, पर्सामा दर्ता नरहेको र सो संस्थाको नाममा लेटर प्याड तथा प्यान नम्बर पनि नभएको बताइन्छ । तर संस्थाका अध्यक्ष भनिने रामजनम चौधरीले संस्थाको छाप लगाइ विभिन्न माग राखी जिल्ला प्रशासन पर्सामा निवेदन दर्ता गराइ अनशनमा बसेका छन् । सोही संस्थाका युवाहरूको अर्को समूहले चौधरीले व्यक्तिगत स्वार्थका लागि अध्यक्ष पद दुरुपयोग गरेको भन्दै कारबाईको मागसहित कार्यवाहक अध्यक्ष छनोट गरी मङ्सिर १ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराएको बताइन्छ ।
गापा अध्यक्ष चौधरीले युवाहरूको आपसी विवादमा गापालाई बदनाम गराउने प्रयास गरिएको बताए । सूचना वा कुनै किसिमको माग गर्नु परे गापाको कार्यालयमा निवेदन दिन सकिने उनले बताए । अनशनरत रामजनमलाई वार्तामा बसेर समन्वय गर्ने प्रयास भइरहेको अध्यक्ष चौधरीले बताए ।