प्रस, बारा, २४ मङ्सिर/
सिमरामा जारी अन्तरविद्यालय स्तरीय फूटबल प्रतियोगितामा न्यू एकता इङ्ग्लिश स्कूल, सिमराले पिलुवाको बारा एकेडेमीलाई पराजित गरेको छ । यससँंगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
सिमरा रङ्गशालामा शुक्रवार भएको खेलमा बारा एकेडेमीमाथि ४–० गोलअन्तरको जीत निकाल्दै न्यू एकता क्वाटरफाइनलमा पुगेको हो । एकतालाई जिताउन नीरज राम एक्लैले दुई गोल गरेका थिए । सुजन खत्री र बबलु पासवानको नाममा १/१ गोल रह्यो । उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलको ‘म्यान अफ दी म्याच’ एकताका कौसुप श्रेष्ठ घोषित भए ।
ग्रासरूट फाउन्डेशनको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिवारदेखि क्वाटरफाइनलका खेल शुरू हुने आयोजक कमिटीले जनाएको छ । सेमिफाइनल प्रवेशका लागि हुने पहिलो खेलमा नेपाल राष्ट्रिय मावि, बकुलिया र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले बताए ।