प्रस, वीरगंज, २२ मङ्सिर/

वीरगंजमा नागरिकता विधेयक पारित गराउनुपर्ने माग गर्दै नागरिकताविहीन नेपालीहरूले बुधवार वीरगंजमा प्रदर्शन गरेका छन् । घण्टाघरबाट निकालिएको जुलुस माईस्थान, आदर्शनगर हुँदै पुनः सोही ठाउँमा पुगेर कोणसभा गरेको थियो ।

कोणसभामा इन्द्रजीत साफी, अभिनय गुप्ता, रीना कुमारी, अक्षय गिरी, श्रवणकुमार मुखिया, विवेक वर्णवाललगायत वक्ताहरूले नेपाली नागरिकता पाएका साढे १३ लाख अभिभावकका बालबालिकाहरू अहिलेसम्म नागरिकता पाउनबाट वञ्चित भएको बताए । उनीहरूले नागरिकता पाउनु आफ्नो नैसर्गिक अधिकार भएको र नेपालको संविधानले पनि त्यसलाई अङ्गीकार गरेको भए तापनि अहिलेसम्म विभिन्न कारण तथा अडचन लगाएर नागरिकताबाट वञ्चित गर्दा ठूलो पीडा भोग्नुपरेको बताए ।

वक्ताहरूले बेलाबेलामा राजनीतिक परिवर्तनसँगै बहाल हुने मन्त्रीले नागरिकता विधेयक पारित गराउने प्रतिबद्धता जाहेर गर्दै आएको र अहिलेसम्म पारित नहुँदा जन्मसिद्ध नागरिकता लिएका नागरिकका लाखौं छोराछोरी नागरिकताबाट वञ्चित भएको र उनीहरूको पठनपाठनमा पनि बाधा पुगिरहेको बताए । सबै कामको लागि नागरिकता आवश्यक भएको र नागरिकताबाट आफूहरू वञ्चित हुँदा समस्या झेल्नुपरेको उनीहरूको भनाइ थियो ।

वक्ताहरूले नागरिकता विधेयकलाई अविलम्ब पारित गराउन आग्रह गरे । सबै राजनीतिक दलले नागरिकता विधेयक पारित गराउने प्रतिबद्धता जाहेर गरे पनि संसद्मा सो विधेयक अहिलेसम्म विचाराधीन हुनु दुर्भाग्यपूर्ण भएको बताए । भर्खरै आएका भारतीयहरूले नागरिकता लिएर बसेको तर वर्षौंदेखि अभिभावकहरूले नागरिकता पाए पनि आफूहरू भने नागरिकताबाट वञ्चित भएकोमा उनीहरूले दुःख व्यक्त गरे ।

कार्यक्रम नागरिकताविहीन नेपाली पर्साका संयोजक अमितकुमार राउतको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here