प्रस, रौतहट, २२ मङ्सिर/
माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साहले माधवनारायण नगरपालिका–४ बिसुनपूर्वा मानपुरमा छठघाटको शिलान्यास गरेकी छन् ।
कार्यक्रममा व्रतालुहरूको माग अनुसार छठघाटको शिलान्यास गरिएको र छिट्टै निर्माण सम्पन्न हुने उपप्रमुख साहले बताइन् । भेल्हीमा दलित सामुदायिक भवन, चमार टोलमा विद्यालय भवनको मर्मत, सलेश मन्दिर, श्रीराम साहको स्मृतिमा हनुमान मन्दिर, सामुदायिक भवन निर्माण, पक्की सडक निर्माण कार्यमा आफ्नो सक्रियता रहेको कार्यक्रममा उनले जानकारी गराएकी थिइन् ।
उनले उपप्रमुखको काम, कर्तव्य र जिम्मेवारी न्याय समितिमा रहेको भए तापनि सङ्घर्ष गरेर विकास कार्यहरू गर्न सफल भएको बताइन् ।
उनले नगरपालिकाको बजेट सञ्चालन गर्ने जिम्मा प्रमुखको मात्र रहेकोमा दुःख व्यक्त गरिन् ।
कार्यक्रममा नेकपा एमालेका नेता उपेन्द्र यादव, जयलाल मुखिया, रामसागर मुखिया, श्यामबाबू हजरा, राजेन्द्र ठाकुर, देवनारायण मुखिया, किशोरी मुखिया, लालबाबू पण्डित, सुखल हजरालगायतको सहभागिता थियो ।