प्रस, ठोरी, २२ मङ्सिर/
पर्साको ग्रामीण क्षेत्रका स्थानीय तहमा बसोबास गर्ने मानिसको उत्थान, विगतमा भएका र भविष्यमा हुन सक्ने जलवायु परिवर्तनका असर र खाद्य सुरक्षाको जोखिमतासम्बन्धी विश्लेषण कार्यक्रम ठोरीमा मङ्गलवार सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम अन्तर्गत उत्थानशीलता विश्लेषण तथा जीविकोपार्जनसम्बन्धी एक दिने अन्तत्र्रिmया गोष्ठी ठोरी गाउँपालिकाको कार्यालय, घ्याङडाँडामा सम्पन्न भएको थियो ।
गोष्ठीमा सहभागीहरूले जलवायु परिवर्तनको प्रभावका कारण खाद्य सुरक्षामा चुनौती थपिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । पालिकास्तरको जलवायु परिवर्तनको अवस्था र खाद्य सुरक्षाबारे अन्तक्रिया र परामर्श गर्दै सहभागीहरूले पालिकास्तरको विवरण प्रस्तुत गरेका थिए।
गोष्ठीमा सहभागी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग परामर्शमार्फत ती क्षेत्रको जीवन निर्वाहका आधारसम्बन्धी सूचना, ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सामाजिक र आर्थिक पक्षसम्बन्धी सूचना, जलवायुजन्य प्रकोपहरूको असर र सोसम्बन्धी ऊनीहरूको अनुभव र अवधारणा सङ्कलन गरिएको विश्व खाद्य कार्यक्रमका प्रदेश संयोजक कृष्ण माझीले जानकारी दिए ।
उनका अनुसार गोष्ठीमा पालिका प्रतिनिधिहरूको परामर्शमार्फत सङ्कलन गरिएको प्राथमिक सूचनाहरू र द्वितीय प्रकाशित स्रोतहरूबाट सङ्कलित सूचनाहरूको आधारमा जीवन निर्वाहका आधारहरूको क्षेत्र पहिचान र नक्शाङ्कन, जलवायु पुनर्उत्थान, जलवायु परिवर्तनका असर र खाद्य सुरक्षाको दृष्टिकोणले जोखिमतासम्बन्धी विश्लेषण गरिनेछ ।
गोष्ठीमा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने, समन्वय अधिकारी छविरमण भट्टराई, पर्साका ठोरी, जीराभवानी, जगरनाथपुर, कालिकामाई, धोबिनी र छिपहरमाई गाउँपालिका तथा पोखरिया नगरपालिकाका प्रतिनिधि, सम्बन्धित पालिकाको कृषि र विपत् व्यवस्थापन शाखाका प्रमुखहरूको सहभागिता थियो ।
विश्व खाद्य कार्यक्रमले विभिन्न देशका सरकारहरूसँग सहकार्य गरी जीवन निर्वाहका साधन, जलवायु परिवर्तन र यसले खाद्य सुरक्षामा पार्न सक्ने असर पहिचानका लागि स्पष्ट अवधारणा प्रयोग गर्दै आइरहेको छ । नेपालमा यो अवधारणाको अभ्यास राष्ट्रिय योजना आयोग, विश्व खाद्य कार्यक्रम र युके सरकारको जलवायु कार्यालयको सहकार्यमा सञ्चालनमा छ ।