कलैया, २२ मङ्सिर/रासस
आलुबालीतर्फ बाराका कृषकले खेती गर्ने क्षेत्रफलमा कमी गर्दै आएकाले यस वर्ष आलुखेतीमा ३० हेक्टर क्षेत्रफलमा कमी आएको छ ।
कम लगानीमा बढी फाइदा हुने नगदेबाली उखुखेती र मत्स्यपालन व्यवसायतर्फ कृषकको बढी आकर्षकले कृषकहरूले २०७८/७९ मा कुल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलुखेती गरेको कृषि ज्ञान केन्द्रका विज्ञ गेनालाल मण्डलले बताए ।
जिल्लाका प्रायः सबै ठाउँमा आलुखेती हुने गरेको र उत्पादनका हिसाबले अमृतगंज, गोलागंज, हरिहरपुर, उचिडिह, देवापुर, भगवानपुर आलुखेतीको पकेट क्षेत्र भएको बताइएको छ ।
गत वर्ष २०७७/७८ मा कृषकले कुल सात हजार ४५० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलुखेती गरी प्रतिहेक्टर १६ मेट्रिकटनले कुल एक लाख १९ हजार २०० मेट्रिकटन आलु उत्पादन गरेका थिए ।