अङ्कारा, २१ मङ्सिर/सिन्ह्वा

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमवार मात्र २० हजारजनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमवार मात्र यहाँ २० हजार ३३ जनामा सङ्क्रमण भएको देखिएको जनाएको छ ।

यहाँ सोमवार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो सङ्क्रमणबाट अहिलेसम्म ७८ हजारजनाभन्दा बढीको ज्यान गएको पाइएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ वर्षपछिकै कम
नयाँ दिल्ली/एएएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरूले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सबैभन्दा कम सङ्क्रमित भएको मङ्गलवार जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सबैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयमा सबैभन्दा धेरै सङ्क्रमितहरूको सङ्ख्या केरला राज्यमा देखिंदै आएको छ । पछिल्लो थपिएकामध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या ९५ हजार १४ रहेको छ । यो सङ्ख्या पनि ५५४ दिनपछिकै सबैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

कुल सङ्क्रमितमध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामैं रहेका छन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चारजना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here