प्रस, परवानीपुर, २१ मङ्सिर/

वीरगंजमा सरकारी निकायले किसानको धान खरीद गर्ने अहिलेसम्म सुरसार गरेको छैन । धान खरीद गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगंजले अहिलेसम्म धान खरीदको प्रक्रिया अगाडि बढाएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राखेको वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको सो कार्यालयलाई मन्त्रालयले चालू आवमा कुन दरमा कति धान खरीद गर्नेबारेमा पत्राचार नगरेको कारण धान खरीद गर्न नसकेको बताइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगंजका प्रमुख विकास कटुवालले मन्त्रालयको पत्र कुरिरहेको र पत्र आएपछि धान खरीद प्रक्रिया शुरू हुने बताए । उनले सम्भवतः एक/दुई हप्तामा धान खरीद गर्न निर्देशनसहितको मन्त्रालयको पत्र वीरगंज आइपुग्ने बताए । कार्यालयले गत वर्ष सोना मन्सुली धान प्रतिकिलो रु २८.८५ को दरमा किसानबाट धान खरीद गरेको थियो।

चालू आवमा सरकारले करीब रु १.७ समर्थन मूल्यमा बढोत्तरी गरेको छ । यस अनुरूप चालू आवमा करीब रु २९.०२ प्रतिकिलोमा धान खरीद हुने अनुमान छ ।

गत वर्ष करीब ३५ टन सोना मन्सुली धान सरकारले खरीद गरेको थियो भने जीरा मसिनो (कतर्नी) धान रु ३१ प्रतिकिलोको दरमा मात्र ३ क्विन्टल खरीद गरेको थियो । सरकारले धान खरीद गर्न ढिला गर्दा किसानले रु २३–२४ प्रतिकिलोमा व्यापारीहरूलाई बिक्री गर्न बाध्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here