प्रस, रौतहट, २० मङ्सिर/
दुर्गाभगवती गाउँपालिका–३ का बासिन्दाहरूले प्रहरीविरुद्ध सोमवार गौर–गङ्गापिपरा सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन् ।
सनराइज बैंकमा कार्यरत सुरक्षागार्ड रवीन्द्र साहलाई इलाका प्रहरी कार्यालय, गङ्गापिपराका सुरक्षाकर्मीले भगाएको आरोप लगाउँदै स्थानीय बासिन्दाहरू बिहान ६ बजेदेखि मत्सरी सडकमा टायर बालेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
शनिवार दिउँसो ३ बजे संस्कृत माविनजीकै मोटरसाइकलको ठक्करबाट मत्सरीका चन्द्रकिशोर झाका १६ वर्षीय छोरा सन्तकुमार झा घाइते भएका थिए । घाइते झाको उपचारको क्रममा काठमाडौंमा शनिवार राति १ बजे मृत्यु भएको थियो ।
झाको मृत्यु भएपछि सिसिटिभी फुटेजको आधारमा आरोपित मोटरसाइकल चालक रवीन्द्र साह भएको खुल्न आएपछि सनराइज बैंकमा ड्युटी गरिरहेका साहलाई बैंकबाटै इप्रका, गङ्गापिपराका सुरक्षाकर्मीले भगाएको भन्दै पीडित परिवारले आरोप लगाएका छन् ।
मृतक युवकको काठमाडौंमैं शल्यपरीक्षण गरी दाहसंस्कारको लागि शव परिवारजनलाई जिम्मा लगाइएको थियो ।
परिवारजन काठमाडौंबाट घर आएपछि आज बिहानैबाट प्रहरीको विरोधमा पीडित परिवारलगायत स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए । संस्कृत माविमा कक्षा ९ मा अध्ययनरत सन्तकुमार झाको मृत्यु भएपछि उनको शोकमा हिजो आइतवार एक दिन विद्यालय बन्द गरिएको थियो ।