प्रस, ठोरी, २० मङ्सिर/
ठोरी गाउँपालिका–१ स्थित वृद्धवृद्धा तथा असहाय आश्रमलाई थापा परिवारले कपडा धुने मेशिन र खाद्यान्न सहयोग गरेको छ ।
ठोरी गापा–२ का सुदीप थापाले बुबा भरतबहादुर थापा र छोरा रोजदीप थापाको जन्मोत्सवको अवसरमा आश्रमलाई सो सामग्री सहयोग गरेका हुन् । कार्यक्रममा थापाले आश्रममा अशक्तहरूलाई कपडा धुन र खाना पकाउन सबैभन्दा समस्या भएको खबर पाएर आफूले आधुनिक मेशिन र खाद्यान्न उपलब्ध गराएको बताए ।
कार्यक्रममा स्थानीय युवा व्यवसायी धीरसिंह घिमिरेले संस्था सञ्चालनको कठिनाइमा सधैं सबैजनालाई मलहम बनेर उपस्थित भइदिन आग्रह गरे । वडाध्यक्ष रामप्रकाश कुँवरले अशक्तहरूलाई विभिन्न तरीकाबाट हुँदै आएको सहयोगको सराहना गरे । आफूले संस्थाको दीर्घकालीन हितको लागि प्रयास गर्दै आएको र सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम गरेको बताए ।
आश्रमका सञ्चालक आसबहादुर गुरुङले आफूपनि अशक्त हुँदै गएको र आश्रमको हेरचाह कसले गर्ला भन्ने पीर परेको बताए । आश्रममा अहिले २० जना वृद्धवृद्धा आश्रित रहेको उनले बताए ।