कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा अहिले जोरसोरका साथ भइरहेको छ । कोरोनाको यो पाँचौं स्वरूपको रूपमा देखा परेको छ । दक्षिण अफ्रिकी मुलुकमा देखा परेको ओमिक्रोम पछिल्लो चरणमा शक्तिशाली मुलुक अमेरिकासँगै जनसङ्ख्याको आधारमा विश्वमा दोस्रो मानिएको छिमेकी भारतमा पनि देखा परिसकेको छ । भारतमा देखा परेको कुराले नेपालमा चर्चा पाएको बेला अहिले नेपालमा पनि ओमिक्रोनबाट एकजना सङ्क्रमित पुष्टि भएका छन् र योसँगै आम जनमानसमा ओमिक्रोनको त्रास बढेको छ । मङ्सिर ७ गते नेपाल आएका एकजनामा ओमिक्रोन मङ्सिर २० गते पुष्टि भएपछि अहिले यसको सन्त्रासले देशभरका मानिसमा भयको वातावरण छाएको छ । नेपालको सन्दर्भमा कोरोनाको पहिलो भेरियन्ट अल्फा अनि चौथो भेरियन्ट डेल्टाको ठूलो प्रभाव रह्यो । अल्फा र डेल्टामध्येमा पनि डेल्टाको प्रभाव धेरै रह्यो । पहिलो चरणमा अल्फा भेरियन्ट आएकोले त्यस बेलाको त्रास अनि सङ्क्रमण तथा मृत्युदरभन्दा पनि बढी चौथो भेरियन्ट डेल्टाको देखियो । डेल्टाको कारण नेपालमा कोरोनाबाट हुने मृत्युदर ह्वात्तै बढन गयो ।
पर्सा जिल्लाको सन्दर्भमा पनि डेल्टा अल्फाभन्दा कैंयन गुणा बढी खतरनाक साबित भयो । पहिलो चरणमा बाहिरका जिल्लासमेत नारायणी अस्पताल र निजी कोरोना अस्पतालमा गरी ५३ जनाको मृत्यु भएको थियो भने डेल्टाबाट साढे तीन सय हाराहारीमा मानिसहरूले ज्यान गुमाउनुपरेको थियो । कोरोनाको दोस्रो भेरियन्ट बेटा र तेस्रो भेरियन्ट गामाको प्रवेश नेपालमा भएको सुनिएन । दोस्रो र तेस्रो भेरियन्ट आउने कुराले त्रास मात्र पा¥यो असर भने गरेको सुन्नमा आएन । तर चौथो भेरियन्ट डेल्टा विद्यमान रहेकै अवस्थामा अहिले पाँचौं भेरियन्टको रूपमा आएको ओमिक्रोनको त्रास भने निकै बढेको छ । त्रास बढ्नुको कारणमध्ये खोपका दुई मात्रा लिएकाहरूलाई पनि ओमिक्रोनले असर गर्छ भन्ने कुराले हो । अमेरिकालगायत समृद्ध देशहरूमा ओमिक्रोनबाट जोगिनका लागि त्यहाँका सरकारले कोरोनाविरुद्धको दोस्रो मात्रा लिइसकेकाहरूलाई तेस्रो मात्रा दिन शुरू गरिसकेका छन्, जसलाई बुस्टर डोज भनिन्छ । नेपाल सरकारका स्वास्थ्यमन्त्रीले पनि आगामी दुई साताभित्र बुस्टर डोजको मात्रा दिने तयारी भइरहेको बताए । जबकि सबै नेपालीले कोरोनाविरुद्धको दुवै मात्राको खोप लिइसकेका छैनन् । अनुदान, सहयोग र सरकारले खरीद गरेको एक करोड ९९ लाख मात्रा खोप लगाइएको छ भने सरकारले विभिन्न स्थानमा ७३ लाख खोपको मात्रा भण्डारण गरेको छ । सबै नागरिकलाई खोप दिन नसकेको अवस्थामा बुस्टर डोजको घोषणाप्रति आशावादी हुन सकिन्छ ढुक्क हुन सकिंदैन ।
ओमिक्रोन नेपालमा प्रवेश रोक्न सरकारले हवाई यात्रा गर्नेहरूलाई कडाइ गरेको छ । विभिन्न देशबाट हवाई यात्राद्वारा नेपाल आउनेको स्वास्थ्य परीक्षण, अनिवार्य दश दिनको क्वारेन्टाइनमा बस्नुपर्नेलगायत भारतसँगको खुला सीमामा स्वास्थ्य परीक्षणलगायतका पूर्वतयारी गर्ने र केही स्थानमा शुरू पनि गरिसकेको छ । सरकारको तयारीमा लापरवाही बढी हुने गरेको छ । नागरिकहरू पनि जिम्मेवार भने पक्कै छैनन् । कोरोनाको कहर कम भएसँगै लापरवाही बढेको छ । मास्क लगाउने, भीडभाड नगर्ने, विसङ्क्रमित हुने आदि कुरालाई बिर्सेका छन् । तसर्थ अब लापरवाहीले जोखिम निम्त्याउने हँुदा सबैजना सचेत र सर्तक हुन आवश्यक छ ।