प्रस, परवानीपुर, १९ मङ्सिर/
नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले सातवटा प्रदेशमा हिजो शनिवार प्रदेशस्तरीय अधिवेशन सम्पन्न भएको छ । प्रदेश २ बाहेक अधिकांशमा शुक्रवार मनोनयन दर्ता भएर शनिवार मतदान भएको थियो । तर काङ्ग्रेसको विधानविपरीत केही प्रदेश प्रतिनिधिले आपत्ति प्रकट गरेका छन् । उनीहरूले प्रदेशस्तरीय अधिवेशनमा उम्मेदवारको हकमा मात्र प्रदेश प्रतिनिधि बन्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
हालको व्यवस्था अनुसार केन्द्रीय सदस्य, जिल्ला सभापति र प्रदेश प्रतिनिधिहरूले प्रदेश कार्यसमितिको सभापतिदेखि सदस्यसम्म उम्मेदवार बन्न पाउँछन् । यसले प्रदेशस्तरमा राजनीति गर्ने नेता, कार्यकर्ताहरूलाई असर परेको उनीहरूको भनाइ छ । प्रदेश प्रतिनिधि दुईजना नेताको भनाइ यस्तो छ ।
दोधारे नीतिले अवसरबाट वञ्चित–अनिल श्रीवास्तव
नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ (क)का सभापति अनिल श्रीवास्तवले नेकाको दोधारे नीतिका कारण प्रदेशस्तरीय अधिवेशनमा प्रदेश प्रतिनिधि अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भएको बताए । उनले पार्टीको विधान अनुसार प्रदेश कार्यसमितिको उम्मेदवारमा प्रदेश प्रतिनिधि, जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले उम्मेदवार बन्नुपर्ने नियम रहेको चर्चा गर्दै उक्त नियम अव्यावहारिक रहेको बताए । “प्रदेशको राजनीतिमा जिल्ला सभापति, केन्द्रीय सदस्यहरूको के काम,” उनले भने, “उनीहरूले केन्द्रको राजनीतिमा हस्तक्षेप गर्नुपर्छ । प्रदेशस्तरमा प्रदेश प्रतिनिधिबाट नेतृत्व चयन भयो भने ठीक हुन्छ ।”
गुट रहेसम्म काङ्ग्रेसको राजनीति ठीक हुँदैन –लुकेश सिंह
नेपाली काङ्ग्र्रेसको १४औं अधिवेशन अन्तर्गत बारा क्षेत्र नं ४ (ख)का सभापति लुकेश सिंहले जबसम्म पार्टीभित्र गुट–उपगुटको राजनीति समाप्त हुँदैन, तबसम्म पार्टी ठीक तरीकाले अघि नबढ्ने बताए । उनले भने– चारैतिर गुट–उपगुटको राजनीति छ । केन्द्रदेखि वडासम्म सबैले आफ्नै नेता रहून् भनेर नीति–नियम बनाएका छन्, त्यसैले विधानमा यस्तो व्यवस्था राखिएको छ ।