जीतलाल श्रेष्ठ, निजगढ, १९ मङ्सिर/

‘घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ मूल नाराका साथ आइतवार निजगढको बुद्धचोकमा सडकनाटक प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत निजगढ नगर बाल सञ्जालका कलाकारहरूको प्रयासमा सो सडकनाटक प्रदर्शन गरिएको हो ।

विभिन्नखाले महिला हिंसाका घटनाका कारण हाम्रो समाजमा कतिपय अवस्थामा अझै दबिएर बसेका महिलाहरू प्रताडित हुनुपरिरहेको अवस्थालाई यस्ता खाले सडकनाटक प्रदर्शनले बाहिर ल्याउन सहज हुने निजगढ नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले बताए ।

कार्यक्रममा जबसम्म घरपरिवारबाटै महिला हिंसाविरुद्धको अभियान शुरू गरिंदैन, तबसम्म महिलाहरूमाथि हुने दाइजो प्रथा, बोक्सी आरोपका घटनालगायत विभिन्नखाले हिंसा कायमै रहने भन्दै घरैबाट महिला हिंसाको अन्त्य गर्नुपर्ने निनपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए ।

सन्तान नहुने, त्यसमाथि पनि छोरा नहुने जस्ता दोष महिलामाथि थोपर्ने हाम्रो पुरुषप्रधान समाजका घटनालाई बाल कलाकारहरूले मार्मिक ढङ्गबाट मनै छुने गरी सडकनाटकमा प्रदर्शन गरेको उनले बताए । वैदेशिक रोजगारमा जाँदासमेत महिलाहरूमाथि हुने गरेका हिंसाका घटनालाई निरुत्साहित गर्नुपर्ने यस्ता सन्देशमूलक नाटकहरूबाट पनि महिला हिंसाका घटनामा कमी आउने प्रप्रअ कार्कीले बताए । महिला हिंसाका कुनै पनि घटनाहरूलाई लुकाएर राख्न नहुने, यस्ता खाले घटना घटे सम्बन्धित वडा वा प्रहरी प्रशासनमा तुरुन्तै जानकारी दिनसमेत उनले आग्रह गरे ।

निजगढ नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा उक्त सडकनाटक प्रदर्शन भएको हो । कार्यक्रममा यस्ता खाले सचेतनामूलक नाटकहरू निजगढ नगरका ग्रामीण बस्ती, पिछडिएका बस्तीहरूमा प्रदर्शन गर्दा झनै सार्थकता पाउने नागरिकहरूले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here