प्रस, जीतपुर, १९ मङ्सिर/

ग्रासरूट फाउन्डेशनले आयोजना गरेको विद्यालयस्तरीय फूटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा सिमरा पब्लिक इङ्ग्लिश स्कूल र नोबेल एकेडेमी विजयी भएका छन्।

प्रतियोगिताको पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमी, सिमरालाई शून्यका विरुद्ध तीन गोलअन्तरले सिमरा पब्लिक इङ्ग्लिश स्कूल विजयी भएको हो । सिमरा पब्लिकको जीतमा आर्यन लामाले दुई र नितेश मगरले एक गोल गरेका थिए । सुरुआती खेलदेखि दबाबमा परेको सेन्ट पिटर्सले पहिलो मध्यान्तर गोलरहित बराबरीमा रोके पनि दोस्रो मध्यान्तरमा तीन गोल खान पुग्यो । पहिलो खेलको ‘म्यान अफ दी म्याच’ नितेश मगर घोषित भए ।

दोस्रो खेलमा पाथिभरा स्कूललाई एकका विरुद्ध दुई गोलअन्तरले हराउँदै नोबल एकेडेमी विजयी भएको हो । अस्मिन थिङ र मोहन विष्टले समान एक/एक गोल गरेका थिए । खेलको २३औं मिनेटमा थिङले पहिलो गोल गरे भने त्यसको ६ मिनेटपछि नै नोबेलका मोहन विष्टले दोस्रो गोल गरेका थिए ।

दुई गोलको अग्रता लिएको नोबेलविरुद्ध पाथिभराका आयुष खत्रीले खेल समापनको अतिरिक्त समयमा गोल फर्काएका थिए । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ नोबेलका मञ्जिल घिसिङ घोषित भए ।

प्रतियोगितामा भोलि सोमवार पनि दुई खेल हुने आयोजक कमिटीका संयोजक सोनु क्षत्रीले बताए । पहिलो खेल सेन्ट जोन्स एकेडेमी र नेरामावि, बकुलियाबीच र दोस्रो खेल न्यू एकता बोर्डिङ स्कूल र शुभतारा एकेडेमीबीच हुने संयोजक क्षत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here