प्रस, ठोरी, १८ मङ्सिर/
विद्युत् लाइन सर्ट भएर शुक्रवार राति ठोरी गाउँपालिकामा एक घर जलेर नष्ट भएको छ । ठोरी गापा–१ दीपकनगरमा विद्युत् सर्ट भई आगजनी भएको थियो ।
छिमेकी घरमा पूजाको प्रसाद खान गएको बेलामा ठोरी गापा–१ दीपकनगर निवासी डालुमाया कुँवरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १२ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको पीडित कुँवरले बताइन् ।
आगलागीबाट एक तोला सुन, तीन तोला चाँदी, ४० मुरी धान, परिवारका सदस्यका नागरिकता, लालपुर्जा, बाख्रा, कुखुरा, पराल, खाट, कुर्सीलगायत ४० वटा कडीसमेत जलेर नष्ट भएको पीडित कुँवरले बताइन् । आगलागीबाट साढे ६ लाख मूल्यबराबरको क्षति भएको बताइएको छ ।
आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी, ठोरी शाखाले राहत उपलब्ध गराएको छ। नेरेसो, ठोरी शाखाका उपसभापति कृष्णगोपाल कुँवरले भाँडाकँुडा, चारवटा कम्बललगायत राहतका सामग्री दिएको बताए ।