प्रस, पोखरिया, १८ मङ्सिर/
पोखरिया नगरपालिकामा सञ्चालित तेस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कालिकामाई गापाले जितेको छ ।
आयोजक पोखरिया नगरपालिकालाई पराजित गर्दै कालिकामाई गापा विजयी भएको हो ।
पोखरिया नगरपालिका–७ स्थित शेरा फिल्डमा भएको प्रतियोगिताको फाइनल खेलमा पोखरियाले टस जितेर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।
११४ रनको लक्ष्य लिएको कालिकामाईले १८ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजय हासिल गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य प्रह्लाद गिरीले विजेता कालिकामाईलाई एक लाख ५१ हजार र उपविजेता पोखरियालाई ८१ हजार रुपैयाँको चेक र ट्रफी प्रदान गरेका थिए ।
पोखरिया युवा समाजका भगवान दास तत्वाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रदेशसभा सदस्य गिरीले विजेता टीम कालिकामाईका कप्तान जावेद अख्तरलाई र उपविजेता टीम पोखरियाका कप्तान सियानन्द चौहानलाई पुरस्कार राशिको चेक र ट्रफी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लोसपाका नेता नेजामुद्दीन समानी, पोखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्रलगायतको सहभागिता थियो ।
फाइनल खेलमा ‘म्यान अफ दी म्याच’ कालिकामाईका निमेश पटेल घोषित भए । उनले १८ बलमा सातवटा छक्का र चारवटा चौकाको सहयोगले ५५ रन बनाएका थिए । प्रतियोगिताकोे उत्कृष्ट ब्याट्सम्यान र ‘म्यान अफ दी सिरिज’ पोखरियाका विकास दास घोषित भए ।