काबुल, १८ मङ्सिर/सिन्ह्वा
अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्ने जनाएको छ । तालिबानले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक भएको हो ।
यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रवार यहाँको तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका हुन् ।
उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरूले विद्यालय जान पाउने र विवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ । त्यसैगरी, महिलालाई उनीहरूका अधिकारमा जबरजस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानूनमा जनाइएको छ ।
त्यसैगरी, कुनै पनि व्यक्तिले एकभन्दा बढी पत्नी राखेको छ भने पनि उसले इस्लामिक कानून अनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानूनमा जारी गरिएको बताइएको छ ।
अफगानिस्तानमा महिला अधिकार हनन भएका कैयौं उदाहरण रहेका छन् । अहिले तालिबान सत्तामा आएपछि पनि उनीहरूले महिला र बालबालिकालाई अधिकार नदिएको र दबाब दिएको भनी विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । रासस