राधेश्याम पटेल, परवानीपुर, १६ मङ्सिर/
दक्षिण एशियाली मुलुकमा नेपाल यस्तो मुलुक हो, जहाँ भारतीय गाडीबाटै तराईको औद्योगिक कोरिडोरसम्म होइन, राजधानी काठमाडौंसम्म मालसामान भारतबाट सीधा ढुवानी हुन्छ । अरू देशमा यो सुविधा छैन । नेपाल–भारतको खुल्ला सीमा र नेपाल–भारतको सन् १९५० को व्यापार सन्धिको भारतीय ढुवानी व्यवसायीले अहिलेसम्म फाइदा लिइरहेका छन् । अर्कोतर्फ नेपाली ढुवानी व्यवसायी घाटाको रोजगार गर्न बाध्य छन् । यो नीतिकै कारण तराईका अधिकांश सडक एकातिरबाट बन्छ भने अर्कोतिरबाट भत्किन्छ ।
सडक बर्बाद हुनुको एउटै कारण हो, मालवाहक गाडीले ओभरलोड मालवस्तु बोक्नु । तर ओभरलोडको नियम नेपाली गाडीलाई मात्र लाग्छ, भारतीय गाडीलाई नलाग्ने गरेको नेपाली व्यवसायीहरू बताउँछन् ।
भन्सार एजेन्ट महासङ्घका प्रथम उपाध्यक्ष एवं महासङ्घ मातहतको सङ्घसङ्गठन समन्वय समितिका संयोजक काशीराज उपाध्यायले नेपाल सरकारको नीतिकै कारण नेपालमा गाडी चलाएर भारतीय ढुवानी व्यवसायी मालामाल भइरहेको र बर्सेनि करोडौं रुपियाँ आर्जन गरिरहेको बताए ।
“भारतीय गाडी ७०/८० टन बोकेर आउँदा कसैले रोक्दैन, कुनै अवरोध हँुदैन, तर नेपाली गाडीले भारवाहन क्षमताभन्दा पाँच टन बढी बोक्यो भने नेपाल प्रहरी, ट्राफिक प्रहरीले ऐन नियम लगाएर दुःख दिन्छ, जरिवाना कटाउँछ,” उपाध्यायले भने । यस्ता दुईथरी व्यवहारका कारण नेपाली ढुवानी व्यवसायी तथा उद्योगी अत्यन्तै मर्कामा परिरहेका छन् । आगामी दिनमा भारतीय गाडीलाई मालसामान बोकेर सीमा क्षेत्रसम्म मात्र आउने नीति ल्याउनुपर्छ । यसले देशमा रोजगार र व्यवसाय बढ्छ । बर्सेनि करोडौं रुपियाँ बाहिरिरहेको छ, त्यसलाई रोक्न सक्यौं भने व्यापार घाटालाई पनि कम गर्न सकिन्छ । उनले मालसामान बोकेर नेपाल भित्रिने ओभरलोड भारतीय गाडीलाई भन्सार बिन्दुमैं नेपाली नियम कानूनको दायरामा ल्याउनुपर्ने बताए ।
तराई यातायात व्यवसायी सङ्घ, सिमराका उपाध्यक्ष सोहेल अख्तर अन्सारीले सरकारकै नीतिका कारण नेपाली व्यवसायी कङ्गाल बनिरहेको र अर्कोतर्फ नेपाली सडक पनि बर्बाद भइरहेको आरोप लगाए । उनले सरकारले भारतीय गाडीलाई ओभरलोडमा छुट सुविधा दिंदा आफूहरू मर्कामा परेको र त्यही निहँुमा ट्राफिक प्रहरीको माल कमाउने धन्दा फस्टाइरहेको आरोप लगाए । राजमार्गमा ट्राफिक प्रहरीले भारतीय गाडीलाई पनि रोक्छ, कागजपत्र हेर्छन् र प्रतिगाडी भारु एक सयदेखि पाँच सयसम्म लिएर जान दिन्छ । नेपाली गाडीले ४० टनभन्दा बढी सामान बोक्यो भने जरिवाना काट्ने वा यातायात व्यवस्था कार्यालय, वीरगंजमा कारबाईका लागि पठाउने गरेको उनले बताए ।
यस्तै नीतिका कारण हाल पर्सा/बाराका अधिकांश ढुवानी व्यवसायी कङ्गाल बनिसकेका छन् । पर्सा/बारा क्षेत्रमा मात्रै करीब तीन हजार ट्रक र टेलर अर्थात् मालवाहक गाडीधनीहरू छन् । अधिकांश व्यवसायीलाई बैंकको किस्ता तिर्न धौधौ भइरहेको छ । हामीलाई सधैं बैंकबाट फोन आइरहेको छ, उनले भने, एकजना व्यवसायीले ४/५ वटा बैंकको किस्ता तिर्न बाँकी छ ।
उनले तराईका भन्सार नाकाबाट दैनिक दुई हजारभन्दा बढी भारतीय गाडी मालसामान लिएर नेपाल भित्रिने गरेको र भारु एक सयको दरबाट पनि गणना गर्ने हो भने दैनिक भारु एक लाख ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको बताए ।
वीरगंज भन्सारको पुरानो भन्सार नाका र एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट मात्रै दैनिक करीब आठ सयभन्दा बढी गाडीहरूको आवागमन हुन्छ । नेपाली गाडी १० चक्केलाई १७ टन, १२ चक्केलाई २१ टन, १४ चक्के टेलरलाई साढे २७ देखि ३० टन, १४ चक्के ट्रकलाई २५ टन मात्र बोक्न स्थानीय प्रशासनको आदेश छ तर भारतीय गाडीको हकमा २२, २४, २६ चक्के मालवाहक ट्रकले ७० टनभन्दा बढी सामान बोक्छन् र यसलाई सरकारसमेतबाट रोक्ने प्रयास गरिएको छैन ।
सडक बिगार्नेलाई कारबाई गर्नुपर्छ–यातायात व्यवस्था कार्यालय
यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजका प्रमुख कुशेश्वर साहले नेपालको सडक तथा राजमार्ग बिगार्ने जोकसैलाई पनि सरकारी निकायले कारबाई गर्नुपर्ने बताए । उनले सडक नेपालको सम्पत्ति हो, यसमा सुरक्षा अङ्ग संवेदनशील हुनु जरुरी रहेको बताए ।
“हामीकहाँ महीनामा केही गाडी ओभरलोडको आउँछ, आएकालाई कानून बमोजिम जरिवाना तिराएर कारबाई गरेका छौं,” उनले भने, “राजमार्गमा कुन गाडीले के बोकेर कहाँ जाँदैछ, त्यो हेर्ने जिम्मा ट्राफिक प्रहरीको हो, भारतीय गाडीलाई किन कारबाई गरेन भनी ट्राफिक प्रहरीलाई सोध्नुपर्छ ।”
गृहको पत्रले भारतीयलाई छुट दिएका छौं –प्रदेश २ ट्राफिक
यस विषयमा प्रदेश नं २ ट्राफिक कार्यालय, पथलैयाका प्रमुख हिमालय श्रेष्ठसँग बुझ्दा ओभरलोडको हकमा भारतीय र नेपाली गाडीलाई दुईथरीले कारबाई नगर्ने गरेको दाबी गरे । उनले नेपालको नियम सबैको लागि एउटै रहेको चर्चा गर्दै भारतीय गाडीको हकमा गृह मन्त्रालयको पत्रका कारण आफूहरूले छुट दिइरहेको बताए ।
“नेपालको औद्योगिक प्रयोजनका लागि टुक्र्याउन नपाइने, फुटाउन नपाइने कच्चा पदार्थको हकमा गृहले नरोक्नु, सीमादेखि ३० किलोमिटरभित्रसम्म ल्याउन सहजीकरण गर्न भनेको छ,” उनले भने, “पथलैयाभन्दा माथि जाँदा हरेक गाडीलाई भारवहन क्षमताकै आधारमा कारबाई भएको छ ।”
उनले क्षमताभन्दा पाँच टन बढी लिएको पाइएमा ट्राफिक प्रहरीले चिट काटेर कारबाई गरी जान दिन्छ भने त्योभन्दा बढी लोड गरेको भेटिए यातायातमा पठाउने गरेको बताए । राजमार्गको चोकचोकमा ट्राफिक प्रहरीले भारतीय गाडीसँग नजराना बुझेर जान दिने गरेको अस्वीकार गरे । ट्राफिक प्रमुख श्रेष्ठले त्यस्तो गलत कार्यको प्रमाण पेश भए सम्बन्धित व्यक्तिलाई कारबाई गर्ने बताए ।