प्रस, गरुडा, १० मङ्सिर/
सर्लाही र रौतहटका उखु किसानले कौडीको मोलमा उखु धमाधम बेचिरहेका छन् । सरकारले गत वर्ष प्रतिक्वीन्टल पाँच सय रुपैयाँभन्दा बढी उखुको मूल्य तोकेको भएपनि प्रतिक्वीन्टल तीन सय रुपैयाँमा उखु किसानले उखु बेचिरहेका छन् ।
सर्लाही र रौतहटका चिनीमिल सञ्चालनमा आउनुपूर्व नै उखु किसानले सख्खर उत्पादन गर्ने क्रसर उद्योगलाई सस्तोमा उखु बेचेका हुन् । उखु किसानले सस्तोमा खुँटी उखु बेच्दै गर्दा खाली भएको खेतमा रबी बाली लगाउन भने भ्याउने विश्वास रहेको छ ।
सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका किसान शिवकान्त झाले आफूले प्रतिक्वीन्टल तीन सय रुपैयाँमा क्रसर उद्योगलाई उखु बेचेको बताएका छन् । स्थानीय बन्हु हजारीको क्रसर उद्योगले प्रतिक्वीन्टल तीन सय रुपैयाँमा उखु किनेको हुँदा सोही मोलमा उखु बेचिदिएको झा बताउँछन् । उखु बेचेर खाली भएको खेतमा मसुरो खेती गर्न भ्याउने झाको भनाइ छ ।
कात्तिक र मङ्सिरसम्म उखु बेचेर खाली भएको खेतमा किसानहरूले मसुरो, आलस, तोरी, गहुँ र अन्य बाली लगाउन भ्याउने भएकाले किसानहरूले सस्तोमा उखु बेचिरहेको बताउँछन् । रौतहटको गढीमाई–२ समनपुरका किसान रुदल सहनी तथा सर्लाहीको धनकौल गाउँपालिका, हरकठवाका किसान राम सोगारथ महतोले पनि रबीबाली लगाउन खेती खाली गर्न सस्तोमा उखु बेचेका छन् । सर्लाही र रौतहटका विभिन्न ठाउँमा सख्खर उत्पादन गर्ने क्रसर उद्योग सञ्चालनमा आउँदा किसानहरूले सस्तोमा उखु बेच्नुपर्ने मुख्य कारण थप एउटा बाली लगाउनकै लागि हो ।
गत वर्षको तुलनामा सर्लाही र रौतहटमा उखुखेती कम भएको छ । उखुखेती घटेको भएपनि दुईवटा बाली भिœयाउन किसानहरूले कौडीको मूल्यमा उखु बेच्न थालेका हुन् । समनपुरकै अर्का किसान रवीन्द्र सहनीले अहिलेसम्म आठ कट्ठा खेतको उखु क्रसर उद्योगलाई बेचिसकेको बताउँदै उखु बेचेर आएको पैसाले छठ पर्व मनाउन पुगेको बताएका छन् । चाडबाडको समयमा उखु बेचेर वर्षको सबैभन्दा ठूलो चाड मान्न पनि पाएको र रबी बाली लगाउन हातमा पैसा पनि आएको बताएका छन् ।
रौतहटको सुन्दरपुर र समनपुरमा सख्खर उद्योगहरू सञ्चालनमा रहेका छन् । सुन्दरपुरमा सञ्चालित गढीमाई क्रसर उद्योगका सञ्चालक कृष्णनन्दन साहले अहिले उखुबाट निकै कम सख्खर उत्पादन हुने र सख्खरको बजार भाउ पनि कम भएको हुनाले बजार भाउ तथा उत्पादनको आधारमा उखुको मूल्य तोकिएको बताउँछन् । यसैगरी, समनपुरका क्रसर सञ्चालक सञ्जय साहले चाडपर्वको समयमा केही दिन सख्खरको माग बढी हुने तर त्यसपछि सेलाउने भएकोले सख्खरको मूल्य खासै नहुने र उत्पादन पनि कम हुने हुनाले उखुको मूल्य कम हुने गरेको बताउँछन् ।
उखुको मूल्य कम हुँदा पनि खेत खाली भएपछि किसानले दोहोरो बाली लगाउन पाउने भएकाले किसानहरू क्रसर उद्योगलाई सस्तोमा उखु बेचेका हुन् ।
उखुलाई नगदेबाली भनिए पनि किन्ने बेलामा चिनी उद्योगहरूले किसानको उखु उधारोमा लिने र नगद दिने बेलामा अनेक बहाना बनाउने हुनाले पनि किसानहरूले सस्तोमा भएपनि नगद पाउने भएपछि क्रसर उद्योगलाई उखु उपलब्ध गराएका हुन् । चिनीमिलहरूले समयमा भुक्तानी नदिंदा किसानहरूले आफ्नो पैसाको लागि विगतमा आन्दोलन गर्दै आएका छन् ।
चाडपर्व र खेतीपातीको लागि उखु बेचेर नगद हातमा पर्ने तथा खेत खाली हुँदा अर्को बाली लगाउन पाएपछि दोहोरो लाभ लिन सकिने अवस्था रहेकोले उखु किसानहरूले कौडीको मोलमा क्रसर उद्योगलाई उखु बेचिरहेको किसानहरूकै भनाइ छ ।