प्रस, वीरगंज, ५ मङ्सिर/

इन्जिनीयर राजेशकुमार चौरसियालाई थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै आन्दोलित इन्जिनीयरिङ एशोसिएशनले आइतवार वीरगंजमा कुमारी बैंकअगाडि धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

भूमाफियाहरूले नक्कली लालपुर्जा, ब्लुप्रिन्ट नक्शा र वडा कार्यालयबाट नक्कली चौहदी प्रमाणित गराइ रु १९ करोड ऋण लिएको घटनामा छानबीन गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले इन्जिनीयर चौरसियालाई नियन्त्रणमा लिएकोले यथाशीघ्र रिहाइको माग गर्दै आइतवार कुमारी बैंक, वीरगंजअगाडि दुई घण्टा धर्ना दिएको थियो ।

नेपाल भ्यालुएटर्स एशोसिएशन, वीरगंजका अध्यक्ष मुन्ना सर्राफले अनुसन्धानको क्रममा चौरसियालाई थुनामा राखेर कारबाई गर्नुपर्ने आवश्यकता नभएको भन्दै उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने आफूहरूको माग रहेको बताए । उनले गत कात्तिक २४ गतेदेखि नेपाल भ्यालुएटर्स एशोसिएशनले देशभरिकै बैंकहरूको मूल्याङ्कन बन्द गरी आन्दोलन जारी राखेको र इन्जिनीयर चौरसियालाई रिहा नगरेसम्म आन्दोलन जारी रहने बताए ।

उनले घटनाको अनुसन्धान गरी कारबाईको दायरामा ल्याउनुपर्ने आफूहरूको पनि माग रहेको प्रस्ट्याए । गायक योगेश्वर आमात्यको बाराको विश्रामपुर गापाको विश्वम्भरपुरमा रहेको १२ बिघा जग्गाको नक्कली कागजात खडा गरी भूमाफियाहरूले कुमारी बैंकबाट रु ३८ करोडको मूल्याङ्कन गराइ रु १९ करोड कर्जा गत साउनमा लिएका थिए ।

जग्गाधनीले यसबारे जानकारी पाएपछि गत कात्तिक २ गते सिआइबीमा उजूरी गरेपछि पर्सा र बारा प्रहरीको सहयोगमा कुमारी बैंक, वीरगंज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर कम्पनीका इन्जिनीयर राजेश चौरसिया, डेनियल ट्रेडिङ कम्पनीको नामले रु १९ करोड ऋण लिने मुक्तिलाल गौतम, यशकुमार महर्जन गरी चारजनालाई सिआइबीको टोलीले हिरासतमा लिएर कारबाई प्रक्रिया अगाडि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here