प्रस, जीतपुर, १ मङ्सिर/
जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मुलुकको प्रमुख आयस्रोत नै कर (राजस्व) रहेको बताएका छन् । १०औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय सिमराद्वारा एक हप्ते कर दिवसको बुधवार उद्घाटन गर्दै प्रजिअ कटुवालले करदातालाई सरकारले सोही बमोजिम सेवा सुविधा दिनुपर्ने बताए । उनले करको सदुपयोग हुनुपर्ने बताए ।
कार्यक्रममा बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार साह र रौतहट उवासङ्घका अध्यक्ष रूपेशकुमार पोखरेलले करको दर होइन दायरा बढाउनुपर्ने बताए । कार्यक्रममा बाराका उत्कृष्ट करदाता ओम फ्लावर मिल प्रालिका सुरेशकुमार रूँगटा र रौतहटको वन्दना टे«डिङ कन्सर्नका सञ्चालक चन्द्रप्रकाश अग्रवाललाई प्रजिअ कटुवालले सम्मानित गरेका थिए ।
त्यस्तै, उत्कृष्ट कर्मचारी कुण्डलीदेवी खड्कालाई प्रजिअ कटुवालले नगदसहित सम्मान गरेका थिए । कार्यक्रम आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो ।