प्रस, वीरगंज, ३० कात्तिक/
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले प्रदेश २ को राजधानीको निधो प्रदेशसभाले गर्ने बताएका छन् ।
मङ्गलवार वीरगंजको नगर सभागृहमा आयोजित पत्रकार सम्मेलनमा उनले वीरगंज आर्थिक राजधानी भएको र प्रदेश २ को स्थायी राजधानी बनाउने विषय प्रदेशसभाले गर्ने भएकोले यसमा टाउको नदुखाउन आग्रह गरे । पत्रकारहरूले यसअघि मधेस आन्दोलन र नाकाबन्दीको बेलामा महतोले प्रदेश २ को राजधानी वीरगंज बनाउने भनी आश्वासन दिएको र पछि जनकपुर बनाउने भनी अडान राखेको भन्दै प्रश्न गर्दा उनले आक्रोशित मुद्रामा सो कुरा बताएका हुन् ।
उनले नागरिकताको विषय उठान गर्दा सरकारले आफूलाई निशाना बनाउँदै आएको आरोप लगाए । नेता महतोले नागरिकताको विषय उठान गर्ने बित्तिकै सरकारले आफूविरुद्ध विभिन्नखाले प्रपञ्च रच्दै आएको बताए । उनले आफूलगायत मधेसी, थारू, आदिवासी, मुस्लिम, जनजातिबाट सरकारमा पुग्दा १२ प्रतिशत जनसङ्ख्या भएको नश्लवादी चिन्तनको टाउको दुखेको र सोही परिणाम आफूविरुद्ध अनर्गल प्रचार हुने गरेको सफाइ दिए । उनले आफ्नो नागरिकता नेपालको संविधान अनुसार पाएको र बिहारको कोहवारवामा आफन्तजन मात्रै भएको र आफू भारतीय नभएको दाबी गरे ।
नागरिकताको विषय उठान गर्दा र सरकारको नेतृत्व गर्दा मात्र यस प्रकारको आरोप लाग्दै आएको भन्दै उनले आफू भारतीय नभएको प्रस्ट्याए । भारतीयको ट्याग लगाएर आफूलाई बदनाम गराउने कार्य मात्र हुँदै आएको उनको भनाइ थियो ।
सर्वोच्च अदालतको सम्बन्धमा उनले मिलेमतोमा न्यायसम्पादन गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदमुक्त गर्नुपर्ने बताए । उनले अदालत न्यायको मन्दिर भनेर परिभाषित भएपनि नेपालको सन्दर्भमा विनापैसा न्याय पाउने अवस्था नभएको उनले टिप्पणी गरे ।
कानून व्यवसायीहरूको आन्दोलनप्रति नेता महतोले ऐक्यबद्धता जाहेर गरे । तीन दलको समर्थनले प्रधानन्यायाधीश राणाले अहिलेसम्म राजीनामा नगरेको उनको बुझाइ थियो । काङ्ग्रेस, समाजवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूको सेटिङमा जबराले कानून व्यवसायीहरूको आन्दोलनलाई बेवास्ता गरेको बताए । यथावस्थामा देशमा सुशासन, न्याय प्रणाली नै ध्वस्त हुने अवस्था सिर्जना भएको उनले बताए ।
नेता महतोले जसपासँग आगामी चुनावमा कुनै पनि हालतमा एकता नहुने बताए । मधेसलाई बेलाबेलामा भजाउने काम र मधेसी राजनीतिलाई कमजोर गर्ने काम जसपा अध्यक्ष उपेन्द्र यादवले गर्दै आएको हुँदा आगामी चुनावमा एकताको रतीभर सम्भावना नरहेको बताए । मधेसी जनताको भावनाविपरीत जसपा अध्यक्ष यादवले पार्टी टुक्रयाएको उनको आरोप थियो । नेता महतोले यादवलाई आगामी चुनावमा जनताले दण्डित गर्ने बताए ।
यसैबीच, उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीको राजीनामा माग्न पनि चुकेनन् । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत साइकल वितरणमा भएको करोडौं रकमको भ्रष्टाचार अख्तियारले सार्वजनिक गरेको र प्रारम्भिक अनुसन्धानमा मुख्यमन्त्री दोषी देखिएकाले नैतिकताको आधारमा उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने नेता महतोले माग गरे ।
पत्रकार सम्मेलन लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम झाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद लक्ष्मणलाल कर्ण, प्रदेशसभा सदस्य रमेश कुर्मी, प्रह्लाद गिरी, नेता शिव पटेल, रामचन्द्र पण्डित, निजामुद्दीन समानी, ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो ।