केही व्यक्तिका लागि श्रीसिया नदी छठ पर्वमा मात्र प्रदूषित देखा परिरहेको छ । जबकि श्रीसिया नदी प्रदूषणको शिकार भएको तीन दशकभन्दा बढी नै भइसकेको छ । श्रीसिया नदीको पहिलाको स्वरूप स्मरण गर्ने हो भने सो नदीबाट वीरगंजवासीको दिनचर्या शुरू हुन्थ्यो । तत्कालीन अवस्थामा चापाकल र खानेपानीको समुचित व्यवस्था नभएकोले आसपासका मानिसहरू सोही नदीमा खानेपानी, नुहाउने, लुगाधुने, भाँडा माझ्ने कार्य गर्थे । र चाडपर्वमा नदीछेउमा पूजाआजा गर्दै आएका थिए । यसका साथै वस्तुहरूको लागि पनि पिउने पानी र नुहाउने कार्य सोही नदीमा हुन्थ्यो । जनै पूर्णिमामा पुरुषहरू अनि स्वस्थानी वर्त, तीज र पञ्चमीमा महिलाहरूको लागि पनि सोही नदी उपयुक्त हुन्थ्यो । श्रीसियाको सङ्गलो पानीमा जलचरहरूको पनि बाँस थियो । तर अहिले यी सबै कुरा श्रीसिया नदीको हकमा एकादेशको कथा बनिसकेको छ । बारा र पर्सामा खुलेका उद्योगहरूले श्रीसिया नदीको अस्तित्वलाई समाप्त पारेकोमा दुई मत छैन । उद्योगका प्रदूषित पानी नदीमा नबगाउन अहिलेसम्म विभिन्न आन्दोलन, विरोधका कार्यक्रम नभएका होइनन् । सीमापारि भारत, रक्सौलका जनताको पनि यसमा निरन्तर सहभागिता रहँदै आएको छ । तर पनि श्रीसिया नदी भने प्रदूषणमुक्त हुन सकेको छैन ।

श्रीसिया नदी प्रदूषणमुक्त राख्नका लागि सरकारले प्रदूषित पानी बगाउने उद्योगहरूलाई पानी प्रशोधन केन्द्र स्थापना गरेर प्रशोधित पानी मात्र नदीमा फाल्नका लागि बेलाबखत निर्देशित गर्दै आएको पनि छ । नदीसँग जोडिएका उद्योगहरूले पानी प्रशोधन केन्द्र स्थापना गर्ने र प्रशोधित पानी नदीमा बगाउने सरकारको नीति छ तर त्यो नीतिलाई उद्योगहरूले थाङ्नामा सुताएर आफू अनुकूल कार्य गर्दै आएको पाइन्छ । केही उद्योगले सरकारको कडाइले गर्दा पानी प्रशोधन केन्द्र नबनाएका पनि होइनन् । तर सरोकारवाला सरकारी कर्मचारीहरूले यस विषयमा निरन्तर कारबाई नगर्दा अहिले पानी प्रशोधन केन्द्र प्रयोगमा छैन । प्रायः उद्योगहरूको प्रदूषित पानी सीधा नदीमा बगाइन्छ, जसले गर्दा श्रीसिया नदीको मौलिकता समाप्त प्रायः भएको छ । अहिले यो नदी विशुद्धरूपमा उद्योगहरूको प्रदूषित पानी बग्ने नदीमा परिणत भएको छ । गत वर्षसम्म छठ पूजाअगावै श्रीसिया नदीमा उद्योगको प्रदूषित पानी नबगाउनका लागि प्रशासनले चासो देखाउँदै आएको थियो । तर यसपटक सो कार्य पनि भएन । ज्ञापन बुझाउनेले ज्ञापन बुझाएर चित्त बुझायो भने ज्ञापन बुझ्नेले आश्वासन दिएर कर्तव्य पूरा गरेको अभिनय ग¥यो । श्रीसिया नदीमा भने प्रदूषित पानी अविरल बगि नै रहेको छ । यसपालिको छठ पूजा त्यही प्रदूषित पानीमा सम्पन्न भयो ।

यस अर्थमा के भन्न सकिन्छ भने श्रीसिया नदी प्रदूषणमुक्त होस् भन्ने चाहना कसैको छैन । चाहना हुँदो हो भने अहिलेसम्म श्रीसिया नदी प्रदूषित पानी बग्ने नै थिएन । कुनै पनि कुराको सुधारको लागि तीन दशकको समय सानो अवधि मान्न सकिन्न । वीरगंज महानगरपालिकाले पनि सो नदीले अन्तर्राष्ट्रिय नदीको दर्जा पाएकोले भारतमा बग्दा पानी प्रशोधन गरेर जानुपर्ने मान्यता पूरा गर्न पानी प्रशोधन केन्द्रको स्थापना गरिदिएको छ । तर तीन वर्ष पुगिसक्दा पनि
सो पानी प्रशोधन केन्द्र भने सञ्चालनमा आउन सकेको छैन । वीरगंज महानगरपालिकाको यो शैलीलाई हात्तीको देखाउने दाँत एउटा र चबाउने दाँत अर्काे भने सरह लिन सकिन्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here