प्रस, परवानीपुर, २९ कात्तिक/

पर्सा र बारामा पछिल्लो समय मदिराको बिक्री ह्वात्तै बढेको छ । नेपाल–भारत सीमा पूर्णरूपमा खुलेसँगै मदिराको बिक्री बढेको व्यवसायीहरूको भनाइ छ ।

वीरगंज मदिरा व्यवसायी सङ्घका अध्यक्ष रामाधारप्रसाद सर्राफका अनुसार एक महीनादेखि रफ्तार बढिरहेको मदिराको बिक्री छठ बिते लगत्तै डेढ गुनाले वृद्धि भई बिक्री भइरहेको छ । उनका अनुसार अक्टुबर २ तारेखका दिनदेखि नेपाल–भारतको मुख्य नाका वीरगंज–रक्सौल नाका खुलेसँगै मदिरा व्यवसायमा वृद्धि भएको छ ।

अहिले मासिक रु १८ करोडभन्दा बढीको मदिरा, बियर तथा पेयपदार्थ बिक्री भइरहेको उनले जानकारी गराए । नेपाल–भारत सीमा नखुल्दा मासिक रु साढे १२ करोडको कारोबार भइरहेको थियो ।

गत दुई वर्षदेखि कोरोना महामारीको कारण नेपाल–भारत सीमा बन्द थियो । लकडाउनका कारण बजार, होटल, पार्टी प्यालेस र ठूला जमघटका कार्यक्रममा प्रतिबन्ध लाग्दा मदिरा व्यवसाय धराशयी भएको थियो ।

पर्सा र बारामा मात्रै एक दर्जनभन्दा बढी मदिरा र बियरका आधिकारिक विक्रेता छन् भने पर्सामा ८५ र बारामा २५ गरी थोक विक्रेता छन् । त्यसैगरी, होटल तथा खुद्रा पसल गरी पर्सामा १५ सय र बारामा ७ सय गरी २२ सय पसल तथा होटल, रेस्टुरेन्टले कारोबार गरिरहेको उनले बताए ।

वीरगंज, आदर्शनगरस्थित टिबडेवाल इम्पेक्सका सञ्चालक दीपक टिबडेवालका अनुसार अहिले सबैभन्दा बढी गोल्डेन ओक, सिग्नेचर, ओल्ड दरबार, ८८४८ , रुस्लान भोडका, भर्जिन, विदेशी मदिरामा ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, बियरमा टुबोर्ग, गोर्खा, अर्ना, सिजीको मुस्ताङ, नेपाल आइसलगायत र पेय पदार्थमा कोक, स्प्राइट, ड्यूलगायतको बिक्री अत्यधिक बढेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here